स्याङ्जा – स्याङ्जाका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौला पालनतर्फ आकर्षित भएका छन् । वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् ।
नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ वटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
‘स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको यो नगरपालिका फोहोरमैला व्यवस्थापनमा समेत पटक/पटक उत्कृष्ट भई पुरस्कृत भइसकेको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्नेछौँ ।’
खेतबारीमा रसायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताए ।
नगरपालिकाभित्र ३१० गाउँ छन् । ती गाउँबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरूले नै गाउँमा अन्यलाई सिकाउने अध्यक्ष गुरुङको भनाइ थियो । कुहिने फोहोरलाई गड्यौले मल बनाउन प्रयोग गर्न सकिने, विषादी निरुत्साहित गर्ने, रसायनिक मलको प्रयोगमा कमि गर्ने र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रम संयोजक विशाल बगालेको छ ।
‘इच्छुक किसानलाई निःशुल्क गड्यौला, बिन तथा तालिम उपलब्ध गराएका छौँ’, संयोजक बगालेले भने, ‘किसानले उत्पादन गरेका गड्यौला अन्य किसानलाई सहकारीमार्फत बिक्री गरिदिन्छौँ, जसका कारण पनि किसान गड्यौला पालनतर्फ आकर्षित भएका हुन्, गड्यौला प्रतिकिलो रु दुई हजार २०० देखि रु तीन हजारसम्म बिक्री हुने गरेको छ ।’
नगरका १४ वटै वडामा लक्षित समूह गठन गरी गड्यौला पालनका फाइदा र गड्यौला पाल्ने विधिका बारेमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक डिलबहादुर गुरुङले बताए ।
‘वडाका विभिन्न टोल टोलबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषलाई सहभागी बनाएर तालिम दियौँ’, प्रशिक्षक गुरुङले भने, ‘प्रतिकिसान एक किलो गड्यौला र बिन निःशुल्क उपलब्ध गराएका छौँ, अहिले उहाँहरु गड्यौलापालनतर्फ उत्साहित भएर लाग्नुभएको छ ।’

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्