×

किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने किसान सन्तुष्ट

माघ २५, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – व्यावसायिक किवी खेतीमा गरिएको लगानी करिब दुई वर्षमा उठ्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौती विषयमा गरेको अध्ययनले औसत १.९ वर्षमा लगानी उठ्ने देखिएको हो ।

अध्ययनका लागि गरिएको सर्वेक्षणमा सहभागी किवी किसानले यस व्यवसायमा गरेको कुल लगानी फिर्ता पाउन छिटोमा १.३ वर्ष र ढिलोमा ५.५ वर्ष देखिएको अध्ययन प्रतिवेदनमा छ, ‘सोलुखुम्बु जिल्लाका किसानले सबैभन्दा छिटो औसत १.३ वर्ष र धनकुटाका किसानले सबैभन्दा ढिलो औसत ५.५ वर्षमा व्यवसायको लगानी फिर्ता पाउने देखिन्छ ।’

समग्र नमुना किवी किसानको लाभ–लागत अनुपात २.८ः१ रहेको देखिएको छ । जिल्लागत रूपमा उक्त अनुपात सोलुखुम्बु जिल्लामा सबैभन्दा उच्च देखिएको अध्ययनले देखाएको छ ।

सोलखुम्बुका किसानले ३ सय पाउँदा इलामलाई ३५ रुपैयाँ किलो

अध्ययन अनुसार जिल्लागत रूपमा धनकुटामा प्रतिकिलो औसत उत्पादन लागत सबैभन्दा बढी ८ सय ८७ रुपैयाँ रहेको छ भने सोलुखुम्बुको औसत उत्पादन लागत सबैभन्दा न्यून २८.२ रुपैयाँ छ ।
सोलुखुम्बुमा ऋण उपभोग गर्ने किसान संख्या न्यून रहेको र ब्याज खर्च अन्य जिल्लाभन्दा कम रहेकाले उत्पादन लागत कम देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन क्षेत्रको स्थलगत सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा २०७९ सालमा सोलुखम्बुका किसानले अधिकतम मूल्य प्रतिकिलो ३ सय रुपैयाँसम्म प्राप्त गरेको देखिएको छ भने इलामका किसानले सबैभन्दा न्यूनतम मूल्य किलोको ३५ रुपैयाँसम्ममा किवी बिक्री गरेको देखिएको छ ।

किवीमा मुनाफा ८१ प्रतिशत

कोशी प्रदेशका किसानको किवी खेतीमा कुल आम्दानीमा मुनाफा दर ८०.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत रूपमा सोलुखुम्बुमा उक्त दर सबैभन्दा बढी ८४।८ प्रतिशत र धनकुटामा सबैभन्दा कम ६१.३ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशी प्रदेशको समग्र लगानीमा प्रतिफल दर ५१.४ प्रतिशत छ । जिल्लागत रूपमा उक्त दर सोलुखुम्बुमा सबैभन्दा बढी ७९.८ प्रतिशत र सबैभन्दा कम धनकुटामा १८.१ प्रतिशत रहेको देखिएको छ ।

स्थलगत सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा सोलुखुम्बुको कुल उत्पादन लागत न्यून आएकाले त्यहाँ लगानीमा प्रतिफल दर उच्च रहन गएको हो ।

बैंकले कोशी प्रदेशमा गरेको अध्ययन क्षेत्रका किसानमध्ये ५६.३ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरी किवी खेती गरेको पाइएको छ ।

‘माटो परीक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत रहेको देखिएको छ । बहुसंख्यक किसानले माटो परीक्षण नगरी व्यवसाय गरेको पाइएको छ,’ प्रतिवेदनमा छ, ‘नमुनामा समावेश किवी किसानमध्ये ६९.४ प्रतिशतले किवी खेती सम्बन्धी कुनै न कुनै प्रकारको तालिम वा प्रशिक्षण प्राप्त गरेको देखिएको छ ।’

वास्तविक किसानमा पुगेन अनुदान, कर्जा लिन किसानलाई झन्झट

कोशी प्रदेशका ५४.९ प्रतिशत किसानले सरकारी निकायबाट किवी सम्बन्धी अनुदान प्राप्त गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

‘वास्तविक किसानसम्म अनुदान नपुगेको, अनुदानको प्रभावकारी अनुगमन हुन नसकेको जस्ता कारण अनुदान प्राप्त गरेका र नगरेका किसानबीच उत्पादकत्वमा भिन्नता नरहेको अध्ययनबाट देखिएको छ,’ प्रतिवेदनमा छ ।

सर्वेक्षणमा सहभागी १२.५ प्रतिशत किसानले मात्र कृषिसम्बन्धी सहुलियतपूर्ण कर्जा उपयोग गरेको देखिएको छ । किसानले सहुलियतपूर्ण कर्जाको माग गरे पनि नपाएको गुनासो गरेका छन् । सर्वेक्षणमा सहभागी ६१.१ प्रतिशत किसानले कुनै पनि कर्जा नलिएको पाइएको छ । २५ प्रतिशत किसानले बैंक तथा वित्तीय संस्था लगायत अन्य संगठित संस्थाबाट कर्जा लिएको देखिन्छ ।

प्रतिवेदन अनुसार अनौपचारिक क्षेत्रबाट कर्जा लिने किसान संख्या १३.२ प्रतिशत रहेको देखिएको छ । व्यवसाय स्थापना र विस्तार गर्न पटक–पटक बैंक तथा वित्तीय संस्थामा कर्जा माग गर्दै आए पनि लामो कागजी प्रक्रिया, विद्यमान धितो मूल्यांकन प्रणालीमा आधारित कर्जा प्रवाह, कर्जाको भुक्तानी अवधि र व्यवसायको आम्दानी प्रारम्भ हुने अवधिबीचको भिन्नता जस्ता कारण कर्जा प्राप्त गर्न कठिनाइ भएको किसानको गुनासो छ ।

किवी खेती व्यवसायमा ५२.३ प्रतिशत पुरुष र ४७.७ प्रतिशत महिलाले रोजगारी प्राप्त गरेको देखिएको छ । जिल्लागत रूपमा विश्लेषण गर्दा सोलुखुम्बु, धनकुटा र पाँचथरमा किवी खेती व्यवसायको श्रमको आपूर्तिमा पुरुषको उपस्थिति बढी रहेको देखिएको छ भने इलाममा महिला श्रमिकको सहभागिता बढी रहेको देखिएको छ ।

८८ प्रतिशत किसान सन्तुष्ट

सर्वेक्षण क्रममा किवी किसानलाई व्यवसायप्रतिको सन्तुष्टिको अवस्थाबारे प्रश्न गरिएकोमा ८८.२ प्रतिशतले सन्तुष्ट रहेको बताएका छन् । अन्य बालीका तुलनामा कम झन्झटिलो, बहुवर्षीय बाली र उच्च उत्पादकत्व भएका कारण किसान यो व्यवसायप्रति सन्तुष्ट रहेको देखिन्छ ।

२०७७ देखि २०७९ सम्मको उत्पादन सम्बन्धमा स्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा अध्ययन क्षेत्रमा किवी उत्पादन क्रमिक बढ्दै गई कुल १ सय ४४ नमुना किसानको २०७९ सालको कुल उत्पादन ५ सय ६४ टन रहेको देखिएको छ । जुन गत वर्ष २०७८ को कुल उत्पादन भन्दा करिव ४८.२ प्रतिशतले बढी हो ।

कसरी गरिएको थियो सर्वेक्षण रु

राष्ट्र बैंकले स्थलगत सर्वेक्षणका लागि नमुनाका रूपमा छनोट गरेका इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बुका कुल १ सय ४४ नमुना कृषकको किवी फर्मको स्थलगत, प्रत्यक्ष मौखिक वार्तामार्फत किवी खेतीको उत्पादन बजारीकरण, वित्तीय स्रोत विषयमा टिपोट गरेको थियो ।

यस्तै खेती गर्न वर्तमान अवस्था, समस्या, व्यावसायिक सम्भावना, चुनौती तथा सुझाव रहेको प्रश्नावली फारमबाट प्राप्त प्राथमिक तथ्यांक तथा सरकारी निकायले प्रकाशन गरेको द्वितीय तथ्यांकबाट विश्लेषण गरिएको थियो ।

किवी किसानमध्ये ५ देखि १० वर्ष अवधिदेखि किवी खेतीमा संलग्न किसान संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत रहेको पाइयो भने १० देखि १५ वर्ष अवधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी किवी किसानमध्ये ४२.४ प्रतिशत किसानले पाँच रोपनीभन्दा कम क्षेत्रफलमा किवी खेती गरेको देखिएको छ भने १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३।६ प्रतिशत छन् । नमुनामा समावेश किसानमध्ये साक्षर किसानको संख्या ७२.९ प्रतिशत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: