×

प्रचण्ड-नेपाल भेटवार्ता, सरकार सञ्चालन र राजनीतिक सहकार्यबारे कुराकानी

भदौ १७, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा दुई अध्यक्षहरुवीच भेटवार्ता भएको उनीहरुनिकट एक नेताले बताए ।

करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बतायो ।

उनीहरुबिच सरकार बिस्तार र भावी राजनीतिक सहयात्राबारे छलफल भइरहेको छ। यसअघि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको थियो।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: