काठमाडौं । काँग्रेस महाधिवेशन विषयमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ ।
वरिष्ठ नेता पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएको अवस्थामा शीर्ष नेताद्वयवीच भेट हुन लागेको हो ।
आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने समय लिएको जानकारी दिए।
‘क्रियाशील सदस्यतामा केही व्यवहारिक कठिनाइ आएका छन्। त्यसलाई समाधान गरेर जानुपर्छ,’ रिजालले भने, ‘जिल्ला सभापतिजीहरू पनि अनसनमा बस्नुभएको छ। उहाँहरूले उठाएका मागहरू पनि सम्बोधन गर्नुपर्ने हुन्छ, यसबारे कुरा गर्न वरिष्ठ नेताले सभापतिसँग समय लिनुभएको छ। आजै उहाँहरूबीच भेटेर कुराकानी हुन्छ।’
बैठकमा पार्टीका जिल्ला सभापतिहरूको मागअनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दवाव दिने निर्णय गरिएको थियो ।
नेपाली काँग्रेसको महाधिवेशन वैधानिक ढंगले आगामी मंसिर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तर क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद अझै समाधान नहुदा यसको बैधानिकतामाथिनै प्रश्न उठ्न सक्ने भन्दै पौडेल पक्षले क्रियाशील सदस्यताको बाँकी विवाद छिटो टुंगो लगाएर पार्टी महाधिवेशनको प्रक्रिया छिटो टुंगो लगाउन सभापति देउवालाई दवाव दिँदै आएको छ ।
३८ जिल्लाका क्रियाशील सदस्यको नाम वेबसाइटमा राखे पनि बाँकी ३९ जिल्लाको विवरण पनि राखिनुपर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया