
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सत्ता गठबन्धनभित्र विवाद भएर बुधबारको कार्यसूचीमा नराखिएपछि साँझ देउवालाई भेट्न राजदूत बेरी बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री देउवासँग राजदूत बेरीले एमसीसीको विषयमा सत्तागठबन्धनको तयारीबारेमा जिज्ञासा राखेका थिए। देउवाले गठबन्धनभित्रका दलहरु एमसीसीका केहि प्रावधान संशोधन बिना पास नगर्ने अडान लिएकाले संशोधन र समयसीमा के हुने भन्नेबारे सोधेका थिए।
देउवा र बेरीबीच भएको भेटवार्तापछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको छ। देउवाले उनीहरुबीच भएको छलफल जानकारी गराएका थिए।
प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपनि अन्तिम समयमा प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा रोकिएको थियो। प्रचण्ड र नेपालले थप समय मागेकाले बुधबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुन नसकेको हो।
प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट प्रचण्डले गराएका छन्।
एमसीसी मुख्यालयले गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया