×

माधव नेपाललाई ६ मन्त्रालय दिने सहमति

भदौ ६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमालेबाट विभाजित भइ दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई ६ मन्त्रालय दिन गठबन्धनमा सहमति भएको छ ।

सरकार गठन भएको डेढ महिना पुग्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेर बहादुर देउवाले माधव नेपाल अध्यक्ष रहेको पार्टीले आधिकारिक रुपमा दलको मान्यता पाएपछि मन्त्री थप्ने तयारी गरेका छन् ।

गठबन्धनमा रहेका दलहरुले नेपाल पक्षलाई ६ मन्त्रालय दिन सहमत भएका छन् । जसमा पाँच मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने र उनकै कारण नेकपा हुँदै एमालेसम्म विभाजन भएको मत बलियो छ ।

स्रोतका अनुसार नेता नेपालले वेदुराम भुसाललाई आफ्नो दलको तर्फबाट नेतृत्व गर्दै सरकारमा पठाउने भएका छन् । भुसाल राष्ट्रिय सभा सदस्य हुन् ।

भुसालसँगै अर्का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको नाम पनि चर्चामा रहेको छ । त्यस्तै प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा रहेको छ ।

जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।

माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ ।

नेपालको पार्टीले उपसभामुख पनि पाउने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ । उपसभामुख एकीकृत समाजवादीले पाएमा सरला यादवलाई बनाउने सम्भावना छ ।

एमालेमा विवाद कायम रहँदा सरकारमा सहभागी हुने विषयमा माधव समूहले निर्णय गर्न सकेका थिएनन् । अहिले नयाँ पार्टी गठन गरेसँगै सरकारमा जाने बाटो खुलेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: