
मन्त्रालय भागबन्डाका लागि आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।
दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुग्न सकेका छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जानुपर्ने भएकोले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा दलहरूले विस्तृतमा छलफल गर्न नभ्याइएको बताएका छन्।
भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल चितवन गएका छन्।
प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि दिउँसो २ बजे पुन: सत्ता गठबन्धन बैठक बस्नेछ। यो बैठकले कुन दलले कुन मन्त्रालय पाउने भन्ने निर्णय गर्नेछ।
कांग्रेसले अर्थ, रक्षालगायत मन्त्रालय लिने लगभग सहमति भइसकेको छ। उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रीमा उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने कांग्रेसको तयारी छ।
कांग्रेसले स्वास्थ्य, ऊर्जालगायत मन्त्रालय पनि आफूहरूले पाउनुपर्ने बताइरहेको छ। भौतिक पूर्वाधार, स्वास्थ्य, सहरी विकास, ऊर्जा लगायतमा एकभन्दा बढी दलले दाबी गरेकोले सहमति हुन सकिरहेको छैन।
एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शिक्षा मन्त्रालय दिने प्रस्ताव प्रधानमन्त्रीको छ। एकीकृत समाजवादीले उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्री बनाउने तयारी गरेको छ।
सत्ता गठबन्धन बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार कुन दलले कुन मन्त्रालय लिने सहमति भएपछि आजै बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुनेछ।
‘दलहरूले मन्त्रीका नाम दिएपछि आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने।
नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो।
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ। गत चैत ६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रास्वपा पनि तत्काल सरकारमा नजाने भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया