हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित जिल्लाका सातवटै गाउँपालिकामा रहेका विभिन्न शक्तिपीठमा धुमधामका साथ मनाइने साउने पूर्णिमा यो वर्ष कोरोना त्रासका कारण पूजापाठबाहेक अन्य कार्य पूर्णरुपमा बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो ।
आजदेखि जिल्लाका विभिन्न ग्रामीण बस्तीमा रहेका शक्ति पीठमा दुई दिनसम्म पूजापाठसहित आआफ्नै उमेर समूहका महिला पुरुष मिलेर देउडा खेल गरिने गरिन्छ ।
साथै सदरमुकाम सिमकोटमा साउन पूर्णिमाको पहिलो दिनदेखि लगभग पाँच दिनसम्म मनाउनुका साथै ठूलो पर्वका रुपमा लिएर जिल्लाभरका देउडा खेलाडी सहभागी भएर रमाइलो गरिने भए पनि यो वर्ष कोरोना सङ्क्रमणको हुम्ला उच्च जोखिममा रहेकाले सिमकोटमा रहेका विभिन्न शक्ति पीठमा सामान्य पूजापाठबाहेक अन्य कार्य बन्द गरिने भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, “हुम्ला सङ्क्रमणको उच्च जोखिममा छ, त्यसैले जिल्ला डिसिसिएमसीको बैठकले शक्ति पीठमा पूर्णस्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको र देउडा खेल बन्द गरिने भएको हो ।”
जिल्लामा राति ९ बजेपछिदेखि सिमकोट बजार आवतजावतमा समेत बन्द गरिएको छ । रातिका समयमा मदिरा सेवन गरेर होहल्ला बढ्नुका साथै झगडा बढी हुने देखिएपछि ९ बजेपछि आवतजावतमा कडाइ गर्नुका साथै होटेल पसल बन्द गर्ने निर्णय गरिएको आचार्यले बताउनुभयो ।
जिल्लामा रहेका विभिन्न शक्ति पीठमा दिउँसोका समयमा धामी नाच हुने गर्दछ भने साँझ परेपछि विभिन्न उमेर समूहका मिलेर देउडा खेलेर रमाइलो गर्ने गर्दछन् । तर यो वर्ष देउडा नहुने भएको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन पूर्णिमा अवधिभर सिमकोट बजार क्षेत्रमा बाक्लोरुपमा सुरक्षा गस्ती परिचान गर्ने र विगतका वर्षजस्तो देउडा खेल खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
सिमकोट बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीसमेत बढाएको उहाँले बताउनुभयो । हुम्लामा आजदेखि साउन पूर्णिमा मेला शुरु भएको छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्