३ असार, काठमाडौं । सोलुखुम्बुका स्थानीय तहहरुले संघीय सरकारबाट २ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त गरेका छन् ।आर्थिक बर्ष २०७८/७९ को बजेट निर्माणमा सोलुखुम्बु जिल्लाका सम्पुर्ण स्थानीय तह लागि परेका हुन् । असार १० गते बजेट प्रस्तुत हुनुपर्ने संबैधानिक व्यवस्थालाई ध्यानमा राखी सबै स्थानिय तहहरु बजेट निर्माणमा जुटेका छन् ।
जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जनाए अनुसार आगामी आर्थिक वर्षको लागि रु. ५७ करोड ५३ लाख ५४ हजार २ सय ६४को बजेट ल्याउने तयारी गरिएको छ।नगरपालिकाले प्रत्येक वडालाई रु.४५ लाखको सिलिङ पठाउने निर्णय गरेको जनाएको छ । नगरपालिकाले स्वास्थ्य, शिक्षा, विकास र युवा स्वरोजगारलाई पहिलो प्राथामिकतामा राखेर बजेट ल्याउन लागेको मेयर शेर्पाको भनाई छ ।
स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकले संघीय सरकारको समानीकरण अनुदान रु.१३ करोड ७९ लाख, शसर्त अनुदान रु.३० करोड ४९ लाख र विषेश अनुदान रु.६२ लाख सहित जम्मा ४४ करोड ९० लाख प्राप्त हुने अनुमान गरेको छ ।
यस्तै माप्य दुधकोशी गाउँपालिकाले १८ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । स्वास्थ्य र पुर्वधार निमार्णलाई पहिलो प्राथामिकतामा राखेर असार १० गते बजेट सार्वजनिक गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।
थुलुङ दुधकोशी गाउँपालिकाले आगामी असार १० गते सार्वजनिक गर्ने गरि बजेट क्यालेन्डर सार्वजनिक गरेको छ । असार २ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्ने छ भने ३, ४ र ५ गते वस्ती टोल स्तरबाट योजना छनौट गरिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । ६ र ७ गते वडास्तरीय योजना प्राथमीकिकरण, ८ र ९ गते एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिने र असार १० गते बस्ने गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने तालिका तयार पारिएको छ ।
यता लिखुपिके गाउँपालिकाले ५ वटै वडामा ४०/४० लाखको सिलिङ पठाईसकेको छ ।
माहाकुलुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएर २९ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाले असार १० गते बजेट सार्वजनिक गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो ।
यस्तै सोताङ गाउँपालिकाले पनि ३२ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाले कृषी र स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेर बजेट ल्याउने तयारी गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाले प्रत्येक वडालाई २ करोड ५० लाखको सिलिङ निर्धारण गरेको छ ।
यता नेचासल्यान गाउँपालिकाले पनि असार १० गते बजेट ल्याउने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया