बाल्टीमोरको गोलीकाण्डमा एक नेपालीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख २७

एक नेपाली सहित ४ जनाले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी ज्यान गुमाएका छन्। स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा उक्त गोली बारी भएको हो।गोलीकाण्डमा संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।

उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको भने प्रहरीले पहिचान खुलाएको छैन।

अध्ययनको सिलसिलमा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । छात्रवृतिमा अध्ययनको लागि अमेरिका आएका उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् ।

५६ वर्षीय एभर्टनले अन्धाधुन्ध गोली चलाउँदा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्ड घटनास्थलमा पुगेका थिए । प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भयो ।एभर्टनले पहिले उक्त घरमा आगो लगाए, आगो लागेपछि बाहिर भाग्ने क्रममा घिमिरे लगायत ४ जनालाई उनको गोली लागेको थियो । घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो ।यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर (२२ ग्रीनी स्ट्रीटमा) अस्‍पतालमा अधिकारीको उपचार भइरहेको छ ।

२६ वर्षीय अधिकारी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका थिए ।उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ । अस्पतालमा उपचाररत अधिकारीलाई भेट्न महवाणिज्य दूत प्रेमराजा महत अस्पताल पुगिसकेका छन् भने राजदूत डा. युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *