दाङ । तुलसीपुर उपमहानगरपालिका ६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकहरुको पहिचान खुलेको छ ।
मृतक तुलसीपुर उपमहानगरपालिका-६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको लास तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बरगरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी भेटिएको थिए ।
तीनैजना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो । १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडिभित्र शव भेट्टाएका थिए र प्रहरीलाई खबर गरिएको थियो।
इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।
मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर ६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानकालागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया