काठमाडौं : उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजो बसेको बैठकले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बाउने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको प्रकोप न्यूनीकरण नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निस्कर्ष निकालेको हो ।
‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो।’, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले जानकारी दिए। अर्थात् काठमाडौं उपत्यकामा वैशाख २२ पछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।
उपत्यकामा संक्रमणको दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी र शहरी जिल्लामा पाँच सय भन्दा बढी संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय पनि गरेको छ । सो निर्णयअनुसार बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरुमा निषेधाज्ञा जारी भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया