तोडफोड र अवरोध गर्न हिड्ने सबैलाई नियन्त्रणमा लिन्छौं : प्रहरी

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २२

काठमाडौं – नेकपा प्रचण्ड-माधव पक्षले घोषणा गरेको आमहड्तालमा कुनै पनि किसिमको अवरोध वा तोडफोड भए जोसुकैलाई पक्राउ गरिने प्रहरीले जनाएको छ । गृह मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त भएको भन्दै प्रहरीले हिंसात्मक कार्य गर्ने जोसुकैलाई पक्राउ गरिने जनाएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘उहाँहरुलाई पहिल्यै जानकारी पनि गराइसकेका छौं, तोडफोड हुने स्थिति आए नियन्त्रणमा लिन्छौं ।’

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहका अनुसार पसल तथा व्यवसाय खुले निर्वाधरुपमा सञ्चालनका लागि प्रहरीले सुरक्षा दिनेछ । कुनै पनि अवरोध, आगजनी वा अन्य कार्य नहोस् भनेर अन्य समयभन्दा बढी सुरक्षा परिचालन गरिएको समेत उनले बताए ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवर पनि भन्छन्, ‘कानूनको कार्यान्वयन गर्ने हकमा नागरिकको मौलिक हक र स्वतन्त्रतालाई कसैले व्यवधान गर्छ र जोरजबरजस्ती, गैरकानूनी वा हिंसात्मक काम हुन्छ भने प्रहरीले कडा प्रतिक्रिया जनाउँछ ।’ त्यसका लागि उपत्यकामा महानगरीय प्रहरी कार्यालयसहित विभिन्न प्रदेश र जिल्लामा रहेका प्रहरी इकाइबाट विशेष योजना नै बनाएर सुरक्षा प्रबन्ध मजबुत बनाइएको उनी बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल शान्तिपूर्णबाहेकका गतिविधिलाई निषेध गर्ने गरी योजना बनाइएको बताउँछन् । ‘डर, धम्की देखाउने, जबरजस्ती रोक्ने जस्ता कार्यलाई प्रहरीले रोक्छ’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *