काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका लागि प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ता आन्दोलन कार्यक्रमका लागि भेला भएका छन् । यसैकारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट डाईभर्सन गरिएको छ ।
विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले अहिले काठमाडौंको भृकुटीमण्डप ‘वान वे’ सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।
नेकपाको प्रचण्ड–नेपाल समूहले आज बिहान ११ बजे काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेका हुन् । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया