रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सांसद ओलीको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौं । राप्रपा सांसद खुश्बु ओलीले रुसमा रहेका नेपाली श्रमिक, विद्यार्थी र व्यवसायीले भोगिरहेका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ओलीले हालै रुस भ्रमणका क्रममा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्दा विभिन्न समस्या देखिएको बताइन्।

रुसबाट नेपालमा वैधानिक रूपमा पैसा पठाउने सहज माध्यम नहुँदा श्रमिक तथा व्यवसायी समस्यामा परेको उनले बताइन्। रुस–युक्रेन युद्धपछि बैंकिङ प्रणालीमा आएको अवरोधका कारण नेपालीले कमाएको रकम नेपाल पठाउन कठिन भएको उनको भनाइ छ।

ओलीले हुन्डीको जोखिम घटाउन भारतसँगको वित्तीय संयन्त्र, एनपीआई–युपीआई वा प्रतिबन्धमा नरहेका तेस्रो मुलुकका विप्रेषण कम्पनीमार्फत वैधानिक रकम पठाउने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरिन्।

त्यस्तै, रुस सरकारको छात्रवृत्तिमा छनोट भएका नेपाली विद्यार्थीलाई एनओसी नदिँदा छात्रवृत्ति गुम्ने जोखिम रहेको उनले बताइन्। शैक्षिक सत्र २०२६/२७ का लागि प्राप्त ४० छात्रवृत्ति कोटाका विद्यार्थीलाई अध्ययन अनुमति दिन र छात्रवृत्ति पाउने विद्यार्थीका लागि सहज एनओसी तथा वैधानिक रकम पठाउने व्यवस्था गर्न उनले माग गरिन्।

रुसमा चिकित्सा शिक्षा पूरा गरेका नेपाली चिकित्सकको इन्टर्नसिप र दर्तासम्बन्धी समस्या समाधान गर्न नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र रूसी निकायबीच समन्वय आवश्यक रहेको ओलीले बताइन्।

सरकारले रुसका लागि श्रम स्वीकृति रोक्दा गैरसैनिक क्षेत्रमा कार्यरत नेपालीसमेत प्रभावित भएको भन्दै उनले नियमन गर्न सकिने क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खुलाउनेबारे अध्ययन गर्न आग्रह गरिन्।

परराष्ट्र, श्रम तथा रोजगार, स्वास्थ्य मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय गरी समस्याको समयसीमासहित समाधान खोज्न तथा संसदीय समितिमा यस विषयमा छलफल गराउन ओलीले सरकारसँग माग गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *