नार्क पुनर्संरचनाका लागि ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचना, सेवा–सुविधा सुधार र कृषि अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा संसदीय समितिमा छलफल भएको छ ।

सोमबार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे छलफल भएको हो ।

बैठकमा राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्नुपर्ने प्रस्ताव आएको छ । नार्कलाई एकीकृत अनुसन्धान विभागका रूपमा अघि बढाउने विषयसमेत उठाइएको छ ।

सांसदहरूले नार्क, नास्ट र कृषि विश्वविद्यालयहरूबीच अनुसन्धानमा देखिएको दोहोरोपन हटाउनुपर्ने तथा अनुसन्धानको प्रतिफल किसानले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले वैज्ञानिक नियुक्तिलाई निष्पक्ष र व्यावसायिक बनाउन स्वायत्त कृषि अनुसन्धान सेवा आयोग आवश्यक रहेको बताए । वैज्ञानिकहरूको सेवा–सुविधा कमजोर हुँदा दक्ष जनशक्ति पलायन भइरहेको उनको भनाइ थियो ।

उनले नीति निर्माण, स्रोत व्यवस्थापन र अनुगमनका लागि एउटा संरचना तथा अनुसन्धान कार्यान्वयनका लागि छुट्टै ‘कृषि अनुसन्धान प्रतिष्ठान’ रहने दुई तहको संरचना प्रस्ताव गरेका छन् ।

बैठकमा नार्क ऐन संशोधन गरी कृषि वैज्ञानिकलाई समकक्षता दिनुपर्ने, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्ने तथा अनुसन्धान केन्द्रमा कार्यरत कृषि मजदुरका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने मागसमेत उठेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *