पूर्वमन्त्री पाण्डेमाथि घुस डिलको आरोपबारे एमालेले बनायो छानबिन समिति

DaksuMedia दाक्सु मिडिया
|
अशोज ४, २०८३

पोखरा । पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमलाई ५० शय्याबाट विस्तार गरी १ सय शय्याको अस्पताल सञ्चालन अनुमति दिने क्रममा घुस डिल भएको आरोपबारे नेकपा एमालेले छानबिन समिति गठन गरेको छ।

पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलामाथि आर्थिक लेनदेनको आरोप सार्वजनिक भएपछि एमालेले समिति गठन गरेको हो।

अस्पतालको क्षमता विस्तारका लागि २० लाख, २५ लाख हुँदै ३० लाख रुपैयाँसम्मको लेनदेनको बार्गेनिङ भएको दाबी गरिएको छ। तत्कालीन मन्त्रीका स्वकीय सचिव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत सार्वजनिक भएको छ।

तर पाण्डे, पौडेल र सचिव बसौलाले आरोप अस्वीकार गरेका छन्। पौडेलले रकमबारे कुरा भएको स्वीकार गरे पनि आफूले रकम नलिएको र आफ्नो नाममा चेक काटिएकोबारे अनभिज्ञ रहेको बताएका छन्। पाण्डेले पनि आफूले कुनै रकम नलिएको र मापदण्ड पूरा भए कानुनअनुसार अनुमति दिनुपर्ने पक्षमा रहेको बताएका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक देवका पहारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा वेदबहादुर गुरुङ र धनञ्जय दवाडी सदस्य छन्।

समितिलाई १५ दिनभित्र घटनाको तथ्य–सत्य छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *