काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५औँ महाधिवेशन समयमै सम्पन्न गरिने बताएका छन्।
शुक्रबार काठमाडौँको शोभा भगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले विशेष महाधिवेशनको मागप्रति लक्षित गर्दै व्यक्तिगत महत्त्वाकाङ्क्षाका लागि पार्टीको विधि र नियम मिच्न नहुने बताए।
उनले १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनसम्मको प्रक्रिया विधिसम्मत रूपमा अघि बढाउने कांग्रेसको तयारी रहेको स्पष्ट पारे। कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ।
राजनीतिक दलका मुद्दा र एजेन्डा पार्टीले तय गर्ने तथा न्यायिक विषय अदालतले हेर्ने भन्दै सिंहले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए।
उनले बीपी कोइराला र गणेशमान सिंहले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति स्मरण गर्दै कांग्रेस विधिको शासन, जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहेको दाबी गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्