काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा बैंकिङ कसुरका मुद्दा रहेको खुलेको छ।
प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा सोमबार पक्राउ परेका तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरका मुद्दा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरले ३ करोड ४ लाख र १ करोड ३ लाख ३० हजार रुपैयाँ बराबरका दुई मुद्दाको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइसकेको छ। त्यस्तै, ४८ लाख र ९५ लाख रुपैयाँका बैंकिङ कसुरका मुद्दा पनि अघि बढिसकेका छन्।
यस्तै, २ करोड ५६ लाख रुपैयाँको ठगीसम्बन्धी मुद्दा पनि काठमाडौं परिसरबाट सरकारी वकिल कार्यालयमा पुगेको छ।
भक्तपुर प्रहरी परिसरमा २ लाख, जनसेवा वृत्तमा ७५ लाख, दरबारमार्ग वृत्तमा ५ लाख २५ हजार, लैनचौर वृत्तमा १९ लाख ८० हजार रुपैयाँ बराबरका बैंकिङ कसुरका मुद्दा रहेको प्रहरीले जनाएको छ। महाराजगञ्ज वृत्तमा पनि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता रहेको बताइएको छ।
तामाङ बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गरेको छलफलमा सहभागी हुन सोमबार सिंहदरबार पुगेका थिए। छलफलपछि बाहिरिने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्