कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु,कारण खाेज्दै प्रहरी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

भदौ २६ गते बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको आयोन ब्रान्डको ईभी कारमा अचानक आगो लागेको थियो।

आगलागीमा भरतपुर महानगरपालिका–१२ निवासी ५६ वर्षीय चालक अमर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पराजुली आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए।

स्थानीयका अनुसार कार गुडिरहेको अवस्थामा आगो दन्किएपछि उनीहरूले चालकलाई गाडी रोक्न आग्रह गरेका थिए। तर, कार एक्कासि सडकको डिभाइडरमा ठोक्किएको थियो। आगलागीका कारण चालक कारबाट बाहिर निस्कन नसक्दा गाडीभित्रै उनको मृत्यु भएको बताइएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले प्राविधिकहरूसँग समेत समन्वय गरेर अनुसन्धान भइरहेको जानकारी दिए।

आगलागीको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले कारमा विद्युतीय प्रणाली, ब्याट्री वा अन्य प्राविधिक कारणबाट आगलागी भएको हो कि भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

मृतक पराजुलीको भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ। सुरक्षाकर्मीले दमकलको सहयोगमा कारमा लागेको आगो नियन्त्रणमा लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *