बाढीले शिक्षा क्षेत्रमा २ अर्ब ३४ करोडको क्षति, ९ हजार विद्यार्थी प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २६

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जिल्लाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीबाट क्षतिग्रस्त शैक्षिक संरचना पुनर्निर्माण तथा पठनपाठन पूर्ववत् अवस्थामा फर्काउन २ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ आवश्यक पर्ने सरकारी अनुमान छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्।

प्रतिवेदनअनुसार ११ वटा विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनसँगै फर्निचर, पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा अन्य सम्पत्ति नष्ट हुँदा ९ हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

तत्काल पठनपाठन सञ्चालन गर्न साढे १० करोड आवश्यक

बाढीपछि अवरुद्ध पठनपाठनलाई तत्काल सञ्चालनमा ल्याउन तथा आवश्यक अस्थायी संरचना निर्माणका लागि १० करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

त्यस्तै, शिक्षा क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि मात्रै २ अर्ब २३ करोड ८२ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्राविधिक टोलीले निष्कर्ष निकालेको छ।

प्रभावित विद्यार्थीलाई छात्रवृत्ति

बाढीका कारण पढाइबाट वञ्चित भएका विद्यार्थीलाई सहयोग गर्न सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि सारेको छ।

सरकारी अभियानमा निजी क्षेत्रले समेत साथ दिएको छ। निजी विद्यालयका पाँचवटा छाता संगठनले बाढी प्रभावित विद्यार्थीका लागि १ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

बसाइँ सरेका विद्यार्थीलाई नजिकैका विद्यालयमा पढाइने

बाढीका कारण थातथलो छाड्न बाध्य भएका विद्यार्थीको शिक्षालाई निरन्तरता दिन स्थानीय तहहरूले उनीहरू हाल बसिरहेको स्थानबाट पायक पर्ने नजिकका विद्यालयमा पठनपाठनको व्यवस्था मिलाउन समन्वय गरिरहेका छन्।

सरकारले तत्काल विद्यार्थीको पढाइ निरन्तरता दिने र दीर्घकालीन रूपमा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *