काठमाडौं । रसुवागढीमा आएको बाढीपछि उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। गैरसरकारी संस्थाले नेपाली सेनासँग मिल्दोजुल्दो सैनिक पोसाक, दर्जा र दर्ज्यानी चिह्न प्रयोग गरेको भन्दै त्यसलाई रोक्न माग गरिएको हो।
अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार रिट दायर गरेका हुन्। रिटमा ‘ग्रिन आर्मी नेपाल’को दर्ता खारेज गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई विपक्षी बनाइएको छ।
रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ।
सैनिक संरचना र पदनाम प्रयोग गरेको दाबी
रिट निवेदकहरूले ‘ग्रिन आर्मी नेपाल’लाई सामान्य गैरसरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने दाबी गरेका छन्। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको उक्त संस्थाले वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको भए पनि आफूलाई ‘मिलिटरी इन्स्पायर्ड’ युवा संगठनका रूपमा प्रस्तुत गरेको निवेदनमा उल्लेख छ।
संस्थाले सदस्यहरूलाई ‘क्याडेट’, ‘ब्रिगेडियर’, ‘मार्सल’ र ‘चिफ मार्सल’ जस्ता सैनिक प्रकृतिका दर्जामा विभाजन गरेको तथा ‘आर्मी’ शब्दसमेत प्रयोग गरेको निवेदकहरूको दाबी छ।
त्यसैगरी सैनिक शैलीको पोसाक, दर्ज्यानी चिह्न, बुट तथा रेडियो सेटलगायत सामग्री प्रयोग गर्ने गरेको रिटमा उल्लेख छ।
सुरक्षा निकायसँग भ्रम सिर्जना हुने जिकिर
हालैको बाढी तथा विपद्का क्रममा ग्रिन आर्मीका सदस्यहरू नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक र दर्ज्यानी चिह्नसहित उद्धार तथा राहतमा खटिएको दृश्य सार्वजनिक भएको भन्दै निवेदकहरूले आपत्ति जनाएका छन्।
यस्तो गतिविधिले सर्वसाधारणमा उक्त संस्था नेपाली सेना वा राज्यका अन्य सुरक्षा निकायसँग सम्बन्धित रहेको भ्रम सिर्जना गर्न सक्ने रिटमा जिकिर गरिएको छ। यसले राज्यका सुरक्षा निकायको संस्थागत पहिचान, नागरिक सुरक्षा र राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील विषयमा समेत असर पार्न सक्ने निवेदकहरूको तर्क छ।
सरकारी अनुमति पनि बदर गर्न माग
रिटमा ग्रिन आर्मीलाई सैनिक प्रकृतिको पोसाक प्रयोग गर्न विभिन्न सरकारी निकायबाट दिइएको भनिएको अनुमति र सहमतिमाथि समेत प्रश्न उठाइएको छ।
निवेदकहरूका अनुसार गृह मन्त्रालय, रक्षा मन्त्रालय र काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट संस्थालाई पोसाक प्रयोगका सम्बन्धमा अनुमति वा सहमति दिइएको थियो। तर सरकारी निकायबाट अनुमति पाएको आधारमा मात्र संविधान वा प्रचलित कानुनविपरीतको कार्य वैध हुन नसक्ने उनीहरूको जिकिर छ।
रिटमा त्यस्ता अनुमति, निर्णय, राय तथा स्वीकृति बदर गर्नसमेत माग गरिएको छ।
स्पष्ट मापदण्ड बनाउन माग
निवेदकहरूले भविष्यमा कुनै पनि गैरसरकारी संस्था वा स्थानीय निकायले राज्यका सुरक्षा निकायसँग मिल्ने पोसाक, दर्ज्यानी चिह्न वा सैन्य पदनाम प्रयोग गर्न नपाउने गरी स्पष्ट कानुनी तथा प्रशासनिक मापदण्ड बनाउन सरकारलाई निर्देशन दिन माग गरेका छन्।
साथै, कम्पनी ऐन, २०६३ अनुसार सार्वजनिक हितविपरीत वा सर्वसाधारणमा भ्रम सिर्जना गर्ने नाम तथा उद्देश्य भएको कम्पनीको दर्ताबारे पुनरवलोकन गर्नुपर्ने भन्दै ‘ग्रिन आर्मी नेपाल’को दर्ता र सञ्चालनसम्बन्धी निर्णयसमेत खारेज गर्न माग गरिएको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्