काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्।
आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज रूपमा ग्यास उपलब्ध नभएको भन्दै विद्यार्थीहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनमा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए।
विद्यार्थीहरू थाल र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शनमा सहभागी भएका थिए। उनीहरूले तत्काल ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा उपभोक्ताले भोगिरहेको समस्या समाधान गर्न माग गरेका छन्।
यता नेपाल आयल निगमले भने पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएको बताउँदै आएको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानीको व्यवस्था गरिएको निगमको दाबी छ।
निगमका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तराईका उद्योगमा सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यकामा ग्यास ल्याउने व्यवस्था गरिएको छ।
तर निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति भइरहेको दाबी गरे पनि बजारमा भने ग्यासको अभाव कायमै रहेको उपभोक्ताहरूको गुनासो छ। आपूर्ति तथ्यांक र बजारमा देखिएको अवस्थाबीच समेत अन्तर देखिएको भन्दै विद्यार्थी संगठनहरूले सरकार र आयल निगमको ध्यानाकर्षण गराएका छन्।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्