काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी छन्।
छलफलमा पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती, उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रका समस्या समाधान गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ। साथै, स्वदेश तथा विदेशी लगानी आकर्षित गर्ने, व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने र निजी क्षेत्रको मनोबल बढाउने उपायबारे समेत छलफल भइरहेको छ।
सरकारले निजी क्षेत्रसँगको समन्वयमार्फत आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको सन्देशका रूपमा यस छलफललाई हेरिएको छ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्