काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट सुरुङ क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ ।
१६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेशद्वार (पोर्टल) क्षेत्रमा थुप्रिएको भग्नावशेष हटाउने क्रममा हालसम्म दुई दर्जनभन्दा बढी ठूला बोल्डर नियन्त्रित विस्फोटमार्फत हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार १३ भदौदेखि दुईवटा एक्स्काभेटर नियमित रूपमा परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला बोल्डर हटाइएको छ ।
आवश्यकताअनुसार ब्रेकर तथा नियन्त्रित विस्फोटक पदार्थ प्रयोग गरी २४ घण्टा नै सफाइको काम भइरहेको छ । हाल पोर्टलको टप फेस क्राउनभन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो क्षेत्र सफा भइसकेको न्यौपानेले बताए ।
५.५ मिटर अग्लो सुरुङमा प्रवेश गर्नुअघि बाँकी करिब तीन मिटर गहिराइको एक्सेस तथा ड्रेनेज निर्माण सम्पन्न गर्नुपर्नेछ । त्यसपछि मात्रै सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने उनको भनाइ छ ।
सुरुङभित्र पानी जमेको अवस्था नरहेको प्रारम्भिक संकेत
केबल डक्ट सुरुङको प्रारम्भिक अवलोकनबाट सुरुङको मुखबाट करिब एक मिटरसम्मको भाग लेदोले पूर्ण रूपमा भरिएको देखिएको छ । तर सुरुङबाट प्रतिसेकेन्ड करिब दुई लिटरका दरले पानी बाहिरिइरहेको र पानीको दबाब नरहेको इन्जिनियर न्यौपानेले बताए ।
यसले सुरुङभित्र ठूलो मात्रामा पानी जमेको अवस्था नरहेको संकेत गरेको छ । पोर्टलको बाहिरी भागमा गेटको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला बोल्डरले अवरोध गरेको पाइएको छ ।
प्रारम्भिक अनुमानअनुसार सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुन सक्ने देखिए पनि सुरुङको भित्री वास्तविक अवस्था भने पूर्ण रूपमा यकिन भइसकेको छैन ।
सुरुङको संरचना सुरक्षित रहेको प्रारम्भिक अनुमान
१६० मिटर लामो केबल डक्ट सुरुङमध्ये करिब ६० मिटरको दूरीमा एउटा बेन्ड रहेको छ । सुरुङ पावरहाउसतर्फ उकालो ग्रेडियन्टमा रहेकाले यसको भित्री भाग सामान्य तथा सुरक्षित रहेको प्रारम्भिक अनुमान गरिएको न्यौपानेले बताए ।
घटनास्थलसम्म सडक पहुँच नभएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था छ । यसका कारण केही सामग्री घटनास्थलमा पुर्याउन समय लागिरहेको भए पनि उद्धार तथा सफाइको काम निरन्तर भइरहेको इन्जिनियर न्यौपानेले जानकारी दिए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्