अनुदानको युरिया अन्यत्र पठाएको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
भदौ ६, २०८३

बागलुङ : किसानलाई सहुलियतमा उपलब्ध गराउनुपर्ने सरकारी अनुदानको युरिया मल जिल्लाबाहिर पठाएको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बागलुङ बजारस्थित दुईवटा कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्री बसमार्फत वीरगञ्जतर्फ पठाइएको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा किसानका लागि छुट्याइएको मल जिल्लामै बिक्री गर्नुपर्ने प्रावधानविपरीत अन्यत्र लैजान खोजिएको खुलेपछि तीन जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य रहेका छन्।

सरकारी अनुदानमा किसानका लागि वितरण हुने मलको अवैध ढुवानी तथा सम्भावित कालोबजारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

किसानका लागि लक्षित सहुलियतको मल तोकिएको क्षेत्रभन्दा बाहिर पठाउने गतिविधिले वास्तविक कृषकले मल पाउने अवसर प्रभावित हुनसक्ने भएकाले घटनालाई गम्भीर रूपमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *