वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तार योजनालाई पुनः अघि बढाउँदै सम्बन्धित निकायले सडक सीमाभित्र रहेका संरचना हटाउने प्रक्रिया सुरु गरेको छ। घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका घरटहरा तथा अन्य निर्माण हटाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दुवैतर्फ २५–२५ मिटर क्षेत्र संरक्षण गरिने जनाएको छ। यस क्षेत्रमा रहेका घरधनी तथा व्यवसायीलाई संरचना खाली गर्न, सामान सुरक्षित स्थानमा सार्न र सडक विस्तारमा सहयोग गर्न अनुरोध गरिएको छ।
कार्यालयले होटल, लज र अतिथि गृह सञ्चालकलाई पनि उक्त क्षेत्रभित्र नयाँ पाहुना नराख्न आग्रह गरेको छ। साथै, भत्काइएका संरचनाबाट बाँकी सामान १५ दिनभित्र हटाउन सूचनामार्फत जानकारी दिइएको छ।
यसअघि पहिलो चरणमा करिब एक हजार दुई सय संरचनाको अगाडिको भाग हटाइएको थियो। दोस्रो चरणको काम असार महिनामा सुरु भए पनि गहवामाई चौथो रथयात्रालाई मध्यनजर गर्दै केही समय रोकिएको अभियान अहिले पुनः सञ्चालनमा आएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्