काठमाडौँ : बाँके राष्ट्रिय निकुञ्जमा निर्माण गरिएका कृत्रिम पोखरीले वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा उल्लेखनीय सहयोग पुगेको छ।
निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माण गरेपछि चुरे–भावर क्षेत्रमा लामो समयदेखि देखिँदै आएको पानी अभावको समस्या घटेको छ। निकुञ्जका अनुसार यसले वन्यजन्तुहरू पानीको खोजीमा बस्ती नजिक जाने क्रम कम भएको छ।
बाँके राष्ट्रिय निकुञ्ज का वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणालीमार्फत पोखरीहरूमा पानी भर्ने व्यवस्था गरिएपछि निकुञ्जभित्रै वर्षभर पानी उपलब्ध हुन थालेको हो।
यसका कारण बाघका प्रमुख आहारा प्रजाति चितल, चौका, रतुवा, नीलगाई र जरायोको संख्या बढेको र वन्यजन्तुहरू कोर क्षेत्रमै केन्द्रित हुन थालेको निकुञ्जले जनाएको छ।
यसअघि सुक्खायाममा पानीको खोजीमा वन्यजन्तु गाउँबस्तीमा पस्ने समस्या देखिँदै आएको थियो। तर कृत्रिम पोखरी र घाँसेमैदान व्यवस्थापनपछि यस्तो द्वन्द्व घटेको बताइएको छ।
निकुञ्ज प्रशासनका अनुसार यो अभ्यासले वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र विश्वास पनि मजबुत बनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्