काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाउने भएका छन् ।
५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित कारण खुलाएर विशेष महाधिवेशन माग गर्न कभर लेटर पनि तयार भइसकेको छ ।
सकेसम्म आज र ढिलोमा भोलि बिहानसम्म महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारीमा महाधिवेशन प्रतिनिधि छन् । भोलि दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। उक्त बैठकअघि विशेष महाधिवेशन माग गर्ने प्रयोजनका लागि ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाउन लागिएको हो ।
महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित वा विशेष महाधिवेशन प्रस्ताव राख्दै आएका छन् । मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ भने सभापति शेरबहादुर देउवा पक्षले मंसिरमा नियमित वा विशेष महाधिवेशनमा जान नसकिने अडान राखिरहेका छन् ।
सभापति देउवा पक्ष मंसिरभित्रै नियमित महाधिवेशनमा जान नखोजेकोले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन लागिएको नेताहरूले बताएका छन् । सभापति देउवा पक्ष भने चुनावपछि वैशाखमा मात्रै महाधिवेशन गर्न सकिने पक्षमा छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्