काठमाडौं : काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपति मन्दिर क्षेत्र, विमानस्थल र अन्य महत्त्वपूर्ण स्थानमा सेवा विस्तार गरिएको हो।
नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेटको सहकार्यमा सञ्चालनमा आएको यो सेवाका लागि पुराना वाइफाइ क्षेत्रहरूमा मर्मत तथा क्षमता वृद्धि गरिएको छ भने नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जडान गरिएको छ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताललगायत स्थानमा इन्टरनेटको क्षमता १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस बनाइएको छ। हरेक डिभाइसका लागि डाटा सीमा पनि १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।
मन्त्री खरेलको निर्देशनअनुसार उपत्यकाबाहिरका १० सहरमा पनि निःशुल्क वाइफाइ विस्तारको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आज मन्त्री खरेलसहितको टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र विमानस्थलमा वाइफाइ सेवा अनुगमन गर्ने कार्यक्रम तय भएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्