
-आजको युग सूचना प्रविधिको हो, मुलुकले यसको अधिकतम् उपयोग गरी लाभ लिन सक्ने देख्नुहुन्छ ?
मैले यदाकदा सुनेको डिजिटल अर्थतन्त्रले हाम्रो कुल ग्रहास्थ उत्पादनको तीन प्रतिशत पु¥याउनु पर्छ भन्नेछ । सामान्यतया कुल ग्रहास्थ्य उत्पादनको स्रोत ६० खर्ब हाराहारीमा छ । त्यसको तीन प्रतिशत भनेको करिब दुई खर्ब जतिको योगदान प्रविधि क्षेत्रले दिनुपर्छ । प्रविधि उत्पादनमा के दिन्छौँ ? उद्योग, कृषि, व्यापारलगायत हरेक क्षेत्रमा प्रविधिकोे भूमिका के हुन्छ ? पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा के हुन्छ ? यो बुझ्न जरुरी छ । हामीले स्मार्ट सिटी बनाउने भन्छौँ । यो भनेको प्रविधिमैत्री सहर हुनु हो । शिक्षामा प्रविधि साक्षरताको विषय पनि समेटिनु पर्दछ । प्रविधिको सामान्य ज्ञान हुनुपर्छ । डिजिटल नेपालको फ्रेमवर्कमा आठ वटा सेक्टर भनेका रहेछौँ । तर, हामीले १० भन्दा बढी हुनुपर्छ भन्ने सोचेका छौँ ।
सरकारले डिजिटल नेपाल बनाउन पहिलो कार्य अन्तर्गत सात सय ५३ वटै स्थानीय तहमा सम्पूर्ण रुपमा डिजिटलाइजेसन गर्ने योजना बनाएको छ । त्यसैगरी सातै प्रदेशलाई डिजिटलाइजेसन गर्ने योजना छ । नेपाल सरकारका सबै मन्त्रालयहरु र मन्त्रालय मातहतका निकाय, आयोग र विभिन्न संस्था पनि डिजिटलमा लैजाने योजना छ । यति मात्र गर्न सकियो भने हामीले धेरै काम गरेको भन्ने हुन्छ ।
– जनताको तत्काल सूचनाको अधिकारलाई सुनिश्चित गर्न सहयोग पुगोस् भनी सरकार गठन भएको सय दिनकै अवधिमा राससले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा २४ घण्टे सेवा सुरु गरेको छ, भविष्यमा यसको उपादेयतालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
पहिलो कुरा त रासस नेपालका सबै सञ्चारमाध्यमले समाचार प्राप्त गर्ने केन्द्र हो । यहाँबाट उत्पादन भएका समाचार सबै मिडियालाई वितरण हुन्छ । रासस आफैँ पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारको ‘इपिसेन्टर’ हो नेपालको सन्दर्भमा । त्यसैले पहिला त यो संस्था आफैँमा अझै गतिशील हुनुपर्छ । रासस आफैँमा विश्वसनीय हुनुपर्छ । सबै मिडियालाई समाचार दिन सक्ने हैसियत राख्ने राससप्रति अरु मिडियाको आकर्षण बढ्दै गएको छ । सरकारको उद्देश्य पनि सूचनामा जनताको पहुँच बढीभन्दा बढी विस्तार गर्नु हो । आगामी दिनमा समयानुसार आफ्ना सेवामा सुधारसँगै कर्मचारीको व्यवस्थापन, प्रविधिमैत्री बनाउनेलगायतका विषयमा ध्यान दिनुपर्छ ।
विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकाससँगै कागजरहित कार्यसम्पादन युगमा राससलाई डिजिटलाइजेसन गर्ने मुख्य विषय हो । राससलाई प्रविधिमैत्री बनाउनुपर्छ । जनशक्तिको उत्तम र उचित व्यवस्थापन गर्नुपर्छ । सोही अनुरुप जनशक्तिको क्षमता विकास गर्नुपर्ने हुन्छ । खाली कामको घण्टा मात्रै बढाएर मात्र नभई थोरै जनशक्तिले धेरै काम गर्न सक्नेतर्फ केन्द्रित हुनुपर्छ । रासस २४ घण्टा नै सञ्चालन हुँदा हालै आएको बाढी, पहिरोको विपद्पछि उद्धार, राहतसम्बन्धी सूचना, स्थलगत रिपोर्टिङदेखि विभिन्न विज्ञहरुका विचारहरु सम्प्रेषण गरी सहहनीय कार्य भएको छ । राससको स्टुडियोलाई पनि व्यवस्थित गरी व्यावसायिक रुपमा उपयोगमा ल्याउन सकिन्छ ।
सङ्घीय मन्त्रालयको साथै प्रदेश सरकार र स्थानीय तहले गरेका कामको राससले नियमित समाचार बनाउनुपर्छ । राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकाय र राष्ट्र निर्माणका जिम्मेवार प्रमुखलाई बोलाएर राससमार्फत धारणा सम्प्रेषण गराउन सकिन्छ । मन्त्रालयहरुले गरेका कामको बारेमा जनताले थाहा पाउनुपर्छ । राससले अब काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्छ । क्षमता पनि सुधार गर्नुपर्छ । राससका नीति, रणनीति र ऐन पनि संशोधन गर्नु पर्नेछ । यी सबै गर्दा रासस सबैको विश्वासको केन्द्र बन्न सक्छ । त्यसमा मन्त्रालय निरन्तर सहयोग र समर्थन रहन्छ ।
– संविधानको भावना र समावेशी चरित्रअनुसार राससले पनि अवधि, मैथिली र नेपाल भाषामा समाचार सुरु गरेको छ, यो विषयलाई कसरी हेर्नुभएको छ ?
सरकारी संस्थानले काम नगरेको भन्ने गुनासो आइरहेका बेला रासस, रेडियो नेपाल वा गोरखापत्र संस्थानलगायतका संस्थाले अहिलेको समावेशी लोकतन्त्रको भावनालाई पछ्याउन खोजेको देखिन्छ, यो आफैँमा खुसीको कुरा हो । राससमा पहिला नेपाली र अङ्ग्रेजी मात्रै समाचार सम्प्रेषण हुन्थ्यो । अहिले राससले पाँच वटा भाषामा समाचार सेवा प्रदान गर्न सक्षम भएको छ ।
राससका समाचार विभिन्न मिडियाले प्रकाशन÷प्रसारण गर्दैगर्दा विभिन्न जाति समुदायले हाम्रो भाषामा पनि राससले समाचार दिएको छ है भन्ने आत्मियता महशुस गर्न पाएका छन् । यसले रासस सबैको साझा संस्थाको रुपमा विकास हुन्छ । यसबाट सम्बन्धित भाषाभाषीका समुदायले लोकतन्त्र आएको महसुस गरिरहेका हुन्छन् । त्यति मात्र होइन, यसले हाम्रो व्यवस्थालाई पनि बलियो बनाउँछ ।
हामीले विविधतापूर्ण समाजमा समावेशीताको अभ्यास गर्नैपर्छ । शान्त, समृद्ध, सुसभ्य, समाजको निर्माण गर्ने हो भने विविधतायुक्त समाजलाई समावेशी बनाउनुपर्छ । राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ । प्रतिनिधित्व हुनुपर्छ । संसारमा अभ्यास भएका प्रजातन्त्रका बीचमा हाम्रो लोकतन्त्र समावेशी, उन्नत, बृहत र पूर्ण खालको छ ।
आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो । हामी त्यसको अभ्यासमा छौँ । त्यसको अभ्यास राससले गरेको छ । यो विषयलाई नेपाल सरकारले पनि गर्वको महशुस गर्नुपर्छ । राससले विभिन्न भाषामा समाचार दिँदैगर्दा भूइँ मान्छे, जो छन् उनीहरुले अपनत्व महसुस गरेका छन् । यो कामलाई अझै व्यवस्थित गरेर लैजानुपर्छ ।
– संविधानको रक्षा, जनजीविकामा सुधार ल्याउने उद्देश्यसहित प्रमुख दुई राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन भएको पनि सय दिन पूरा भएको छ । तपाइँ सरकारको प्रवक्ता पनि हुनुहुन्छ, सरकारको गतिलाई कसरी हेर्नु भएको छ ?
वर्तमान सरकार गठन भएको सय दिनसम्म आइपुग्दा राम्रा र युगिन महत्वका कामहरु भएका छ । यो सरकार गठन भएपछि लामो समयदेखि थन्किएको टिआरसी विधेयक पास भयो । बृहत शान्ति सम्झौताको अपुरो एउटा महत्वपूर्ण काम सरकारले गरेको छ । यो विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण पाटो हो भन्ने लाग्छ । वर्तमान सरकार गठनपछि लामो समयदेखि दुग्ध किसानले पाउन नसकेको रकम प्राप्त गरेका छन् । सहकारी समस्या समाधानको बाटोमा छ । सहकारीसम्बन्धी ऐन कानुन बनाउने कार्य पनि छिट्टै पारित हुँदैछ ।
त्यसैगरी सरकारले बाढी, पहिरो, डुबानमा परेका जनतालाई तत्कालै उद्धार र राहातको व्यवस्था गरेको छ । बाढी, पहिरो र डुबानबाट प्रभावित सडकबाटो मर्मतपछि सञ्चालनमा आएको छ । बाढी, पहिरोबाट खानेपानी, विजुली र टेलिफोनमा आएको समस्या पनि समाधान भएको छ । बाढी, पहिरोबाट रु १७ अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ । सरकारले भत्किएका संरचनाहरुको पुनःनिर्माण र पुनःस्थापना कार्य सुरु गरिसकेको र पीडितलाई केन्द्रमा राखेर निर्णयहरु गरेको छ । अझै पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ ।
नेपालको कुनाकुनामा इन्टरनेट पु¥याउने हाम्रो योजना छ । नेपाललाई विश्वकै ‘आइटी हब’ को रुपमा विकास गर्ने योजना छ । त्यो गर्न सम्भव पनि छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्र सङ्घीय महासभामा आफ्नो धारणा स्पष्टसँग राख्नु भएको छ । विदेश सम्बन्धलाई अझ फराकिलो बनाउने काम भएको छ । मुख्यतः देशभित्र नै राजनीतिक स्थिायित्वका लागि प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको हुँदा जनतामा ठूलो आशा र विश्वास जागृत भएको छ ।
यसलाई पूरा गर्न सरकार प्रतिवद्ध छ । देशको अर्थतन्त्रमा अहिले पनि समस्या छ, तर विस्तारै लयमा फर्किदै छ । सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा कामहरु गरेको छ । यसको ठोस परिणाम विस्तारै जनताले प्रत्यक्ष अनुभूत गर्ने नै छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया