नेताले सन्तोषजनक काम गरेनन्: राजेश हमाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २४

काठमाडौँ : अभिनयको लामो र व्यस्त यात्रा तय गरेर हाल करिअरको उत्तरार्धमा आइसकेका राजेश हमाल आइतबार ललितपुरको होटल हिमालयमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवमा देखिए ।

हमालको राजनीतिप्रतिको बुझाइ र भविष्यमा हुन सक्ने आबद्धतालाई लिएर जिज्ञासा राखियो । ‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नुहुन्छ,’ हमालले प्रस्ट्याउँदै भने, ‘यो हाम्रो राष्ट्रको विडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ, उहाँहरूबाट खासै काम नहुँदा पनि जनता निराश भएका हुन् ।’ जो व्यक्ति जुन क्षेत्रमा छ, त्यसैमा उत्कृष्ट काम गर्नुपर्ने तर्क गर्दै यही नहुँदा राजनीतिमा जनताले सन्तोष मान्न नसकेको उनको टिप्पणी थियो ।

‘समाजले विभिन्न पेसामा लागेका व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा पनि आइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्नुहुँदो रहेछ,’ अभिनेता हमालले थपे, ‘राजनीति भनेको देशकै मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अन्य अंगले पनि काम गर्दैनन् । हाम्रो राजनीति पनि त्यस्तै भएको हो ।’

झन्डै सात वर्षको अन्तरालपछि फिल्म ‘नरसिंहा’ बाट पुनः अभिनयमा फर्किन लागेका हमाल अहिले आफूलाई पहिलो फिल्ममा काम गर्न लागेझैं महसुस भएको बताए । ‘दर्शकको स्वाद र चाहनाअनुसार मात्र अब चलचित्रमा काम गर्ने भनेर बसेको थिएँ, अहिले ७ वर्षको ग्याप मेट्न जाँदै छु । कताकता पहिलो चलचित्र गर्न जाँदै छु जस्तो लागिरहेको छ ।

त्यसैगरी, ‘रंगमञ्चमा पुस्तान्तरण’ विषयक अर्को सत्रमा नयाँ पुस्ताका तीन रंगकर्मी आकांक्षा कार्की, अनिल सुब्बा र सरस्वती चौधरीबीच अन्तर्क्रिया चलेको थियो । आकांक्षाले रंगमञ्चमा पछिल्लो समय अनुशासन र प्यासन एकदमै कम रहेको टिप्पणी गर्दै भनिन्, ‘युवापुस्ता विदेश पलायन हुने भएकाले नाटकमा पनि यसको प्रत्यक्ष असर परेको छ ।’

त्यसैगरी, सुब्बाले पछिल्लो समय रंगमञ्च क्षेत्र व्यावसायिक बन्ने कोसिसमा रहेकोमा खुसी व्यक्त गर्दै हरेक क्षेत्रमा पुस्ता हस्तान्तरण हुँदै जानुपर्ने तर्क राखे । चौधरीले गुरुले चेलाहरूले गरेको कामलाई कदर नगरेको तीतो अनुभव सुनाउँदै भनिन्, ‘हामी गुरुलाई एकदमै इज्जत गर्छौं, तर पनि हाम्रो कामलाई कदर गरिँदैन ।’ ‘पहिलेभन्दा काम गर्नेमा शैली के फरक छ ?’ सहजकर्ता रीना मोक्तानले राखेको जिज्ञासामा अनिलले भने, ‘म आदिवासी कथाको पछि लागिरहेको छु । मैले मेरो बेलामा कथा खोज्नुपर्छ जस्तो लाग्छ । ०७२ सालबाट म आदिवासी कथाको रिसर्चमा छु ।’

त्यसैगरी महोत्सवको अर्को सत्रमा ‘मेनस्ट्रिमका मिडिया र न्यु मिडिया’ का बारेमा चलेको विमर्शमा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले मिडियाले उठाएको प्रश्न र त्यसको प्रभाव मुख्य विषय रहेको बताए । भने, ‘मूलधार र न्यु मिडिया भन्ने छाप त छ तर मुख्यतः प्रश्न र प्रभावले नै मिडियालाई मेनस्ट्रिम बनाउँछ । त्यसैले हामीले प्रश्न र प्रभावलाई नियाल्नुपर्दछ ।’ सामाजिक सञ्जालले मूलधारका मिडियामा दबाब थपिदिएको हो भन्ने सबालमा चौहानले ‘समयअनुसार परिवर्तन हुन सकेमा मात्र मिडिया दीर्घकालीन हुने बताए ।

पत्रकार विनु सुवेदीले मिडियालाई मेनस्ट्रिम र न्यु मिडिया भनेर विभाजन गर्नु नहुने बताइन् । भनिन्, ‘मिडिया मुद्दामा आधारित हुन्छन् । जुन मिडियाले आजको मुद्दा उठाइरहेका छन्, त्यो नै मेनस्ट्रिम र न्यु मिडिया हो ।’

पत्रकार दिलभूषण पाठकले न्यु मिडियाको आगमनसँगै ‘फेक न्युज’ को बाढी आएको तर्क गर्दै भने, ‘स्वतन्त्रताका नाममा छाडा हुनु दिनुहुँदैन । यसलाई नियन्त्रण पनि गर्नुपर्छ । सूचनाका नाममा समाजलाई दिग्भ्रमित गर्न पाइँदैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *