गिरीबन्धुको कालो धब्बाले छोपिएकाहरूले नैतिकता सिकाउन मिल्दैन : माओवादी सांसद

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २३

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस एमालेको समीकरणले मुलुकलाई स्थिरता नदिने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताएका हुन् ।

‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो’, उनले भने, ‘संसदीय अभ्यासले ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दल वेटेङि गभर्नमेन्ट अर्थात प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने । तर संसद्ले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन ।’

नेता सापकोटाले कांग्रेस एमालेले अपारदर्शी समझदारी गरेको भन्दै दुई दलका बीचमा अझै त्यो समझदारी आधिकारिक रूपमा नआएको भन्दै नेताहरूको मिडिया ट्रायल हो वा के हो ? भनेर प्रश्न गरे ।

‘५० को दशकमा तपाईंहरु नै भन्ने गर्नुहुन्थ्यो कमल थापाहरूलाई डुङ्गा प्वाल पारेर भाग्नेहरू मुसा प्रवृत्तिका हुन् । डुङ्गा प्वाल पर्दा मुसा भाग्छ तर बहादुरहरूले सामना गर्छन् । साहसीहरुले सामना गर्ने हो’, उनले गिरीबन्धुको कालो धब्बाले छप्पकै छोपिएकाहरूले नैतिकता सिकाउन नमिल्ने बताए ।

‘दिनभरि प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔँ भन्ने अनि ललितपुरमा सहमति ड्राफ्ट गर्न खटाउने यो कहाँको नैतिकता हो ?’, सापकोटाले कटाक्ष गरे । उनले सत्तापक्षबाट भर्खरै प्रतिपक्षमा पुगेका दलहरूलाई ‘यही हो नैतिकता ?’ भनेर प्रश्न गरे । उनले वेचन झाको गिरफ्तारी र तथ्यहरू सार्वजनिक हुँदै गएपछि कांग्रेस एमालेले डुङ्गा प्वाल परेको देखेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *