प्रधानमन्त्री पुष्पकमल दाहालले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको जनाएका छन् ।
मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसन र नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मेहेनतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दीगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबै गौरव गर्नैपर्छ।’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्रीले खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया