इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्नो अग्रता ५ अंकले बढाएको छ ।
इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा आर्सनलले एभर्टनमाथि ४ – ० गोलको प्रभावशाली जित हात पारेको हो । पहिलो हाफमै घरेलु टोलीले २ – ० गोलको अग्रता लिएको थियो ।
४० औं मिनेटमा बुकायो साकाले गोलको खाता खोले । इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले दोस्रो गोल गरे । सुरुवातमा उनको गोललाई अफसाइड दिइएको थियो । तर भिएआर परीक्षणपछि मान्यता पायो ।
रेलिगेसन जोनमा रहेको एभर्टनले दोस्रो हाफमा पनि जवाफ फर्काउन सकेन । ७१ औँ मिनेटमा मार्टिन ओडेगार्डले एभर्टनसँगको दूरी ३ – ० मा पुर्याए । ८० औँ मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल उपाधि दौडमा बलियो हुँदै गएको छ । आर्सनलको २५ खेलबाट ६० अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५५ अंक छ । १८ औँ स्थानको एभर्टनको २१ अंक छ ।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले उल्भ्सलाई २ – ० गोलले हरायो । एनफिल्डमा लिभरपुल डाजिन नुनियाजको गोल भिएआरले अस्विकार गरेपछि निराश बनेको थियो । तर ७३ औँ मिनेटमा भर्जिल भान डाइक र ७७ औँ मिनेटमा मोहम्मद सालाहले गोल गर्दै योगर्न क्लोपको टोलीलाई जित दिलाए । यो नतिजाले लिभरपुलको शीर्ष चारमा रहने आश जगाएको छ । छैटौँ स्थानको लिभरपुलको २४ खेलबाट ३९ अंक छ । २५ खेलबाट २४ अंक जोडेको उल्भ्स १५ औँ स्थानमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया