थुलुङ दुधकोशी अस्पतालको तेस्रो वार्षिकोत्सब : थप सुदृढ बनाउँदै लैजाने अध्यक्ष राईको प्रत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

सोलुखुम्बु,३ असोज । थुलुङ दुधकोशी अस्पतालको तेस्रो वार्षिकोत्सब सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको संचालक समितिका सदस्य भोजराज कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार अर्थात आज सम्पन्न कार्यक्रममा अस्पतालका उत्कृष्ट चार जना कर्मचारीलाई सम्मान गरिएको छ । नर्सिङतर्फबाट सिर्जना राई र समिना गुरुङ, प्याथोलोजी तर्फबाट विशाल भण्डारी तथा कार्यालय सहयोगी तर्फबाट सन्जु विश्वकर्मालाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार उनिहरुलाई नगद रु.५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा अस्पतालमा पहिलो पटक शल्यक्रिया सेवा लिनुभएका थुलुङ दुधकोशी-७ की रितुकला राईलाई नगद रु.३ हजार सहित सम्मान गरिएको छ । यस्तै एपेन्डिसाईटिसको पहिलो शल्यक्रिया सेवा लिनुभएका जुबुका सुनिल राई र गोठमा आगोलागी हुँदा शरीर जलेर सक्त घाईते हुनुभएका राम बहादुर गुरुङलाई मायाको चिनो प्रदान गरिएको छ ।

अस्पताल संयोजक कोपिला श्रेष्ठका अनुसार वार्षिकोत्सबको अवसरमा अस्पतालमा उपचाररत ११ जना बिरामीलाई पौष्टिक आहार सहित फलफुल वितरण गरिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै राम बहादुर गुरुङले आफुलाई आफन्तले उपचार सेवाका लागि काठमाडौ आउनु भनेर बारम्बार भनेता पनि यहाँको अस्पतालमा कार्यरत चिकित्सकको दक्षता देखेर बाहिर नगएको भन्दै आफ्नै गाउँमा उपचार संभएको प्रति खुसी व्यक्त गर्नुभयो । यस्तै अस्पतालकै पहिलो शल्यक्रिया मार्फत डेढ वर्ष अघि छोरालाई जन्म दिनुभएकी देउसाकी रितुकला राईले मुक्लीमा अस्पताल नभएको भए लाखौं खर्च गरेर जिल्ला बाहिर सेवा लिनुपर्ने बाध्यताबाट मुक्त भएको भन्दै सञ्चालक प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष असिम राईले अस्पताल स्थापना काल देखि हाल सम्मको सामना गरेको चुनौतीका बारेमा उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्नुभयो । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरि स्थापना गरिएको अस्पताल निर्माणमा स्थानीयको महत्त्वपूर्ण साथ तथा सहयोग रहेको स्मरण गर्दै उहाँले गुणस्तरीय सेवा प्रवाहमा कुनै पनि कमि हुन नदिन अस्पतालका कर्मचारीलाई निर्देशन दिनुभयो । आगामी दिनमा अस्पताललाई थप सुदृढ, गुणस्तरीय र सेवामुखी बनाउन सबैको निरन्तर सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।

हाल अस्पतालमा प्रशुति सेवा, एपेन्डिक्स, थाइरोइड, हाइड्रोसिल लगायतका शल्यक्रिया सेवाहरू सहज रूपमा उपलब्ध हुने गरेको अस्पतालले जनाएको छ । यससँगै अन्य आधारभूत स्वास्थ्य सेवा, सामान्य प्रसूति तथा आकस्मिक उपचार सेवा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको भन्दै अस्पतालका एमडीजीपी डाक्टर निराजन पराजुलीले आगामी दिनमा अझ थप प्रभावकारी बनाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संचालक समितिका सदस्य समेत रहनुभएका गाउँपालिका उपाध्यक्ष सविता राई, ६ नम्बर वडाका अध्यक्ष महेन्द्र दीप राई र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले अस्पतालको गुणस्तरीय सेवामा निरन्तर काम गरिरहेको उल्लेख गर्दै सहयोगका लागि सबैलाई अनुरोध गर्नुभयो ।

अस्पतालमा अहिले दुई जना एमडीजीपी, एक जना एमबीबीएस डाक्टर सहितले सेवा प्रदान गरिरहेका छन । स्थानीय नागरिकहरूले अस्पतालले छोटो समयमा गुणस्तरीय सेवा विस्तार गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *