काठमाण्डौँ । अमेरिका र इरानबीच अप्रिल २१ मा सकिन लागेको युद्धविरामअघि नै शान्ति सम्झौतामा पुग्ने प्रयास तीव्र पारिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, केही मतभेदहरू बाँकी रहे तापनि दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।
विशेषगरी, इरानको आणविक कार्यक्रमलाई लिएर भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ । पाकिस्तान, इजिप्ट र टर्कीले यस प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन् ।
सम्झौताका लागि ‘ब्याक च्यानल’ सम्पर्कहरू जारी छन् र मस्यौदा प्रस्तावहरू आदानप्रदान भइरहेका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र जेरेड कुश्नरले वार्ताको मस्यौदा आदानप्रदान गरिरहेका छन् ।
यसै क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले तेहरानमा इरानी अधिकारीहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरिसकेका छन् र उनी अमेरिकी सन्देश बोकेर तेहरान पुगेको बताइएको छ ।
ह्वाइट हाउसले इरानसँग सम्झौता हुने सम्भावनालाई लिएर आफूहरू उत्साहित रहेको बताएको छ। साथै, दोस्रो चरणको सम्भावित वार्ता पुनः पाकिस्तानमै हुन सक्ने सङ्केत दिएको छ। यसअघि अप्रिल ११ मा इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन बनेको थियो।
होर्मुज स्ट्रेटमा अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरानमाथि सम्झौता गर्न ठूलो दबाब परेको अमेरिकी अधिकारीहरूको दाबी छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्