काठमाण्डौँ । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।
उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।
संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १२ भन्दा बढी विस्फोटका आवाज सुनिएका थिए ।
त्यसपछि दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो ।
संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाहलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र तत्काल अवरोधविहीन मानवीय सहायता मार्ग पुन ःस्थापित गर्न आह्वान गरेको छ ।
यस्तै, संयुक्त राष्ट्रसंघका अनुसार २ मार्चदेखि इजरायली सेना र हेजबुल्लाहबीच लडाइँ सुरु भएयता हालसम्म १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन् । ४६१ बालबालिका घाइते भएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्