अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ ।

ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन् ।

उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन् ।

इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन् ।

यस्तै, रजाईका अनुसार यो युद्ध एक हप्ताभित्रै समाप्त हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो । उनले भनेका छन्– अमेरिका युद्धविरामका लागि तयार थियो र संघर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूमा अमेरिकाले काम गरिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *