हवाई आक्रमणमा तीन सैनिकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ५

बेरुत : इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“इजरायली सेनाले दक्षिणमा ऐन एबेल–हानेन सडकमा सेनाको एउटा गाडीलाई निशाना बनाएको र आक्रमणबाट तीन लेबनानी सैनिकको मृत्यु भएको छ,” लेबनानी सैन्य कमाण्डले भनेको छ। लेबनानी सैन्य स्रोतले नाम नबताउने शर्तमा दिएको जानकारीअनुसार इजरायली सेनाले उक्त गाडीमा सिधा रकेट प्रहार गरेको थियो । लेबनानी सैन्य स्रोतले बताएको छ, “इजरायली लडाकु विमानले दक्षिणी लेबनानका गाउँ, शहर र खुला क्षेत्रमा करिब ४३ वटा हवाई आक्रमण गरेका छन् भने पूर्वी लेबनानमा छोटो दुरीमा हान्ने हतियारको प्रयोग गरी १५ वटा आक्रमण गरेका छन् ।”

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इजरायलको फिलन बेस, उत्तरी इजरायलमा २१० औं डिभिजनको मुख्यालय र लेबनानका विभिन्न गाउँहरूको बाहिरी भागमा इजरायली सेनाको जमघटलाई तोप र क्षेप्यास्त्रले निशाना बनाएको बताएको छ। इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाहसँगको बढ्दो तनावबीच आक्रमणलाई सघन बनाइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *