काठमाण्डौँ । स्पेनका रेल चालकहरू देशव्यापी हडतालमा उत्रिन लागेका छन् ।
जनवरी महिनामा दुई वटा घातक रेल दुर्घटनापछि रेल सुरक्षामा पर्याप्त ग्यारेन्टी नभएको भन्दै चालकहरूले सोमबारदेखि तीनदिने आन्दोलन सुरु गर्न लागेका हुन् । पहिलो दुर्घटना १८ जनवरीमा दक्षिणी क्षेत्र आदामुजमा भएको थियो, जहाँ दुई वटा रेल ठोक्किँदा ४६ जनाको मृत्यु भएको थियो । त्यसको दुई दिनपछि बार्सिलोना नजिक अर्को रेल दुर्घटनामा एक प्रशिक्षार्थी चालकको ज्यान गएको थियो । यस घटनामा कम्तीमा ३७ जना यात्रु घाइते भएका थिए ।
यी घटनाले स्पेनको उच्च गतिको रेल प्रणालीको सुरक्षा विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ । रेल चालकहरूको युनियन सेमाफले थप कर्मचारी भर्ना, बढ्दो मर्मतसम्भार र लगानीको माग गरेको छ । उनीहरूले रेल पूर्वाधार निरन्तर खस्कँदै गएको बताएका छन् ।
पछिल्ला निरीक्षणमा पनि विभिन्न मार्गमा प्राविधिक कमजोरी भेटिएको थियो । आदमुज दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदनले रेल गुड्नुअघि नै ट्र्याकमा दरार रहेको संकेत गरेको थियो । कातालोनियाको दोस्रो दुर्घटनामा भत्किएको पर्खालमा रेल ठोक्किँदा चालकको क्याबिन क्षतिग्रस्त भएको थियो ।
यसैबिच प्रधानमन्त्री पेद्रो सान्चेजलाई संसद्मा रेल सुरक्षाबारे प्रश्न सोधिने तयारी भइरहेको छ । सरकारले भने मड्रिड–आन्दालुसिया मार्गमा हालै ७० करोड युरो लगानी गरिएको भन्दै पूर्वाधार अभावको आरोप अस्वीकार गरेको छ । यद्यपि युनियनले यी दुर्घटनाहरूलाई रेल सुरक्षा सुधारको निर्णायक मोड भनेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्