कोरोनाविरुद्धको खोप बिक्री गर्ने र किनेर लगाउने दुवैजनालाई कडा कारबाही

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ४

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप अवैधरुपमा बिक्री गर्ने र किनेर लगाउने दुवैजनालाई कडा कारबाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबैधरुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जनाएको हो। 

कोभिड-१९ विरुद्धको खोप सरकारले निशुल्क उपलब्ध गराउँदै आएको छ। बजारमा लुकिछिपी बेच्न राखिएका खोपहरु नक्कली हुनसक्ने भन्दै मन्त्रालयले खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन,प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा यर्थाथ जानकारी गराउन पनि अनुरोध गरेको छ।

यस्तै मन्त्रालयले खोप लगाउन जाँदा भौतिक दूरी कायम गर्न,अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाडमा नजान आग्रह गरेको छ। 
पछिल्लो समय कोभि-१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। आजै मात्र १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ।

कोरोना संक्रमण बढेसँगै सम्बन्धित जिल्ला प्रशासनहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आदेश जारी गरेका छन्। आजै मात्र काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेका छन्।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय (ललितपुर,भक्तपुर र काठमाडौं) ले एकै प्रकारका आदेश जारी गर्दै आज मध्यरातदेखि लागू हुनेगरी माघ मसान्तसम्म आमसभा, जुलुस,सभा, भेलालगायतका गतिविधिमा रोक लगाएका छन्।

सरकारले देशभर कोरोनाविरुद्धको ‘बुस्टर डोज’ अभियान सञ्चालनमा ल्याएको छ। पूर्णखोप लगाएको ६ महिना पुगेकाहरुलाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ दिन थालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *