आइएमई लाइफको नवौँ वार्षिकोत्सव : ‘न्यानो नानी’मार्फत नवजात शिशुको स्वास्थ्यमा सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै नवौँ वार्षिकोत्सव मनाएको छ। कम्पनीले वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नगरी स्वास्थ्य, वातावरण, मानवीय सहयोग तथा बीमा सचेतनासँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने देशभर रहेका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए। रक्तदानले अस्पतालमा हुने रगत अभाव न्यूनीकरणमा सहयोग पुग्ने, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान दिने तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत पुग्ने उनको भनाइ छ।

यसै अवसरमा आइएमई लाइफ र राष्ट्रिय आविष्कार केन्द्रबीच नवजात शिशुको स्वास्थ्यमा प्रयोग हुने ‘न्यानो नानी’ बेबी वार्मर वितरणसम्बन्धी सहकार्य सम्झौता भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुई संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्‍याउने प्रयासलाई थप संस्थागत बनाएको बताए।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै अनुसन्धान तथा विकास गरी उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ। समयअगावै जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम प्रदान गर्न प्रयोग हुने यो उपकरण दुर्गम तथा स्वास्थ्य सुविधाको सीमित पहुँच भएका क्षेत्रमा विशेष उपयोगी मानिन्छ।

सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर उपलब्ध गराउने भएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा न्यून पहुँच भएका क्षेत्रका नवजात शिशुलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ।

यी उपकरण सम्बन्धित स्वास्थ्य संस्थामा जडान भएपछि दुर्गम क्षेत्रका नवजात शिशुलाई आवश्यक ताप व्यवस्थापनमा सहयोग पुग्नुका साथै नवजात शिशुको स्वास्थ्य सुरक्षा र आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

सीएसआर नीतिअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमलाई आगामी दिनमा देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत खड्काले बताए। कम्पनीले यसअघि पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रममार्फत योगदान गर्दै आएको जनाएको छ।

जीवन बीमाको पहुँच विस्तार, वित्तीय सुरक्षाबारे जनचेतना अभिवृद्धि तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित अघि बढेको आइएमई लाइफले नौ वर्षको यात्रामा ग्राहक सेवामा सहजता, दाबी भुक्तानीमा तीव्रता र व्यवसायअनुकूल बीमा समाधानलाई प्राथमिकता दिँदै आएको जनाएको छ। देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत सर्वसाधारणसम्म गुणस्तरीय बीमा सेवा पुर्‍याउने प्रतिबद्धता पनि कम्पनीले दोहोर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *