गीत-ट्रेलर रिलिजमा अन्योल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २२

काठमाडौँ । दसैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरका जुत्ता’का निर्माता सरोज ओली अब स्टीकर ‘युग’मा फर्किँदैछन् । उनी देशभरका लागि २० हजार स्टीकर, एक सय बढी होर्डिङ बोर्ड र पाँच सय बढी स्ट्यान्डी राख्ने चाँजोपाँजो मिलाउँदैछन् ।
दुई दिनअघिसम्म फिल्म प्रचारको अर्कै माध्यम थियो- सामाजिक सञ्जाल । तर सरकारले मुख्य सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेपछि फिल्म प्रचारको शैली नै परिवर्तन गर्नुपर्ने बाध्यता आएको छ फिल्मकर्मीहरुलाई ।

दसैँमै प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म ‘बलिदान’का निर्माता गीत रिलिज गर्न लाग्दैथिए । सामाजिक सञ्जाल प्रतिबन्धसँगै उनको योजना पनि ‘पोस्पन्ड’ भएको छ । ‘बलिदान’का निर्देशक सन्तोष सेन युट्युबमा गीत रिलिज गर्ने हो, त्यो नै प्रतिबन्धमा परेपछि रोक्नुपरेको बताउँछन् ।
अर्को फिल्म ‘माइतीघर’ पनि दसैँमै प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारका लागि तयार गरेको ट्रेलर अब हलमा मात्र रिलिज हुने यो फिल्मका निर्माता रोहित अधिकारी बताउँछन् । उनी डिजिटल प्रचार करिब-करिब असम्भव भएपछि अब ‘फिजिकल’ प्रचारमा बढी केन्द्रित हुने सुनाउँछन् ।
यी तीन फिल्मले सामाजिक सञ्जाल प्रतिबन्धले परेको असरलाई स्पष्ट पार्छन् । डिजिटल माध्यमै निर्भर रहनुपर्ने फिल्म र संगीतलाई यसले पारेको असर चौतर्फी छ । निर्माता सरोज ओली सामाजिक सञ्जालको प्रतिबन्धले फिल्म उद्योग पुरानो युगमा फर्किएको अनुभव हुन थालेको बताउँछन् ।

‘हामी स्कुल पढ्दादेखिको कुरा गरौँ न । फिल्म लाग्दा माइकिङ गरेर गाउँ–गाउँमा गएर हाम्रो फिल्म आउँदैछ भनेर प्रचार हुन्थ्यो,’ उनी भन्छन्, ‘एउटा प्लेटफर्म त टिकटक होला, तर त्यति इफेक्टिभ हुँदैन के ।’

उनका अनुसार सामाजिक सञ्जालले फिल्मको गीत, ट्रेलर र प्रमोसनल क्लिप व्यापक दर्शकमाझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । ‘हरिबहादुरको जुत्ता’ प्रचारका लागि लागि उनले बनाएका साना–साना क्लिपहरू अहिले त्यसै थन्किने भएका छन् । यसले गर्दा मानिसमा पुर्‍याउनुपर्ने सूचनाहरू पुग्न सकेको छैन ।

‘पहिलाकै युग जस्तो अब प्रत्येक पसल–पसलमा, प्रत्येक चोक–चोकमा, प्रत्येक ठाउँ–ठाउँमा गएर चाहिँ हाम्रो फिल्म आउँदैछ, हेर्नुस् भनेर त्यही फिजिकल्ली पब्लिसिटीमा जानुपर्ने अवस्था बन्यो,’ निर्माता ओली भन्छन्, ‘यसले प्रचारको पूरै योजना परिवर्तन गर्नुपरेको छ, हजारौं पम्प्लेट र होर्डिङ बोर्डहरूमा लगानी गर्नुपरेको छ ।’

अर्का निर्माता रोहित अधिकारी पनि यो प्रतिबन्धले ठुलो क्षति पुर्‍याएको बताउँछन् । उनका फिल्मका गीत र ट्रेलरहरू अझै रिलिज हुन बाँकी छन् । यद्यपि ट्रेलरहरू हलमा रिलिज गर्ने योजना भए पनि युट्युबमा रिलिज हुनेमा अनिश्चितता छ । अधिकारीले भौतिक प्रचार, जस्तै पोस्टर र होर्डिङ बोर्डहरू ब्रान्डिङका लागि मात्र भए पनि दर्शकलाई आकर्षित गर्ने मुख्य माध्यम भनेको भिडियो विज्ञापन नै भएको बताउँछन् ।

‘डिजिटल माध्यमले हात–हातमा पुर्‍याउनु र बाटोमा पोस्टर टाँस्नुमा त फरक परिहाल्छ’, अधिकारी थप्छन् ‘यसले प्रचारको लागत पनि निकै बढाएको छ, जसको भार फिल्मकर्मीहरूमाथि परेको छ ।’ पछिल्लो समय फिल्म प्रचारको मेन माध्यम डिजिटल प्लेटफर्म भएको बताउने उनी धेरै मारमा परेको धारणा राख्छन् ।

निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक सञ्जालको प्रतिबन्धले प्रचारप्रसारमा ठुलै असर पुगेको बताउँछन् । मानिसहरूको फेसबुक, मेसेन्जर र युट्युबमा अभ्यस्त भइसकेकाले अन्य सूचनाका माध्यममा पहुँच पाउन गाह्रो हुने उनको धारणा छ ।

‘अहिले गीत, ट्रेलर र टिजरको रिलिजमा ढिलाइ, फिल्मको व्यापारिक अवस्था, कुन कलाकार कहाँ छन् भन्ने जस्ता सूचना मासमा पुग्न सकेको छैन । यसले सूचनाको ‘मल्टिप्लायर इफेक्ट’लाई समाप्त पारेको छ,’ देउजा भन्छन्, ‘दर्शकबाट आउने तत्काल प्रतिक्रिया, जस्तै कुन कन्टेन्ट मन पराए वा मन परेन, केमा सुधार आवश्यक छ भन्ने जानकारी फिल्मकर्मीले पाउन सकेका छैनन् ।’

कलाकारहरूको गतिविधि र भाइरल कन्टेन्टबारे पनि जानकारी नहुँदा उद्योगको समग्र चहलपहल कम भएको उनी बताउँछन् ।

अभिनेत्री बेनिशा हमाल पनि सामाजिक सञ्जाललाई प्रचारप्रसारको सबैभन्दा बलियो माध्यम मान्छिन् । उनका लागि यो व्यावसायिक सञ्चार, डकुमेन्ट आदानप्रदान र तस्बिर पठाउने एक महत्वपूर्ण प्लेटफर्म थियो ।

‘हामीले कस्तो काम गर्‍यौँ, के भइरहेको छ भन्ने सबै जानकारी सोसल मिडियाबाटै पाउने अनि आफ्नो शुभचिन्तकहरूको सुझावहरु पनि पाउने यो एउटा बलियो माध्यम थियो,’ उनी भन्छिन् ।
आर्थिक नोक्सानी

सामाजिक सञ्जालको प्रतिबन्धले आर्थिक रूपमा पनि गम्भीर असर पारेको छ । अभिनेत्री हमालका अनुसार डिजिटल प्लेटफर्महरू कलाकारका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत बनेका छन् । ब्राण्डहरूसँग सहकार्य, फलोअर्सको संख्या र पोस्ट तथा स्टोरीहरूबाट आउने आम्दानी अहिले जोखिममा परेको छ ।

‘हामीले चाहिँ कुनै पनि ब्राण्डसँग एसोसिएट हुँदाखेरि त ब्राण्डहरूले के हेर्नुपर्छ, हाम्रो फलोअर्स कति छ भनेर हेर्नुहुन्छ,’ उनी भन्छिन् ।

निर्देशक देउजा सामाजिक सञ्जाल प्रतिबन्धले नेपाली फिल्म प्रचारप्रसार, दर्शक संलग्नता, आम्दानी र व्यावसायिक सञ्चारमा गम्भीर र बहुआयामिक असर पारेको बताउँछन् ।

‘प्रोड्युसरको मात्रै होइन, कन्टेन्ट क्रिएटरहरू, कलाकारहरुको पनि आम्दानी घटेको छ,’ देउजा भन्छन्, ‘युट्युब र फेसबुकहरूमा भ्युअर्स घट्नेबित्तिकै विज्ञापनबाट आउने आम्दानी कम हुन्छ, जसले गर्दा समग्र डिजिटल प्लेटफर्मको बजार संकुचन हुने जोखिम छ । ओटीटी प्लेटफर्महरूले पनि कम पैसा दिनसक्ने सम्भावना छ ।’ यसले उद्योगलाई डिजिटल युगमा प्राप्त गरेको गतिलाई रोकी पुरानै परम्परागत र कम प्रभावकारी शैलीमा फर्कन बाध्य पारेको देउजाको धारणा छ ।

‘विदेशमा रिलिज भएका नेपाली फिल्महरूको प्रदर्शन र फिडब्याक पनि जानकारीमा नआउँदा विश्वव्यापी बजारमा नेपाली सिनेमाको पहुँचमा कमी हुन्छ,’ देउजा भन्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *