काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ लाई लक्षित गर्दै सवारी साधन खरिदकर्ताका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले मेलामा आउने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर तथा सहज वित्तीय सेवासहित कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा बैंकले सवारी कर्जासम्बन्धी जानकारी, परामर्श र आवश्यक सहजीकरणका लागि आफ्ना प्रतिनिधि परिचालन गरेको छ। बैंकका अनुसार अटो शो अवधिमा ग्राहकले नियमितभन्दा आकर्षक ब्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकले कर्जा लिने ग्राहकका लागि प्रशासनिक शुल्कमा पनि विशेष छुटको व्यवस्था गरेको जनाएको छ। भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत कायम रहेकाले त्यसको लाभ सवारी कर्जा लिने ग्राहकले प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।
सवारी कर्जाबारे जानकारी लिन तथा आवेदन प्रक्रियाका विषयमा परामर्श गर्न इच्छुक ग्राहकले अटो शोको एन हलस्थित स्टल नम्बर ०४ मा पुगेर बैंकका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। बैंकले विद्युतीयसँगै निजी तथा व्यावसायिक प्रयोजनका विभिन्न सवारी साधन खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा बैंकले विगतदेखि नै सहभागिता जनाउँदै आएको छ। सवारी साधन खरिद गर्ने ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले यस वर्ष पनि मेलामा सहभागिता जनाएको बैंकले बताएको छ।
यसैबीच, बैंकले आधुनिक बैंकिङ सेवाको विस्तारअन्तर्गत काठमाडौंको ज्ञानेश्वरमा क्याफे लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा थप सहज बनाउँदै ग्राहकलाई सुविधाजनक वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल हब सञ्चालन गरिएको बैंकले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्