काठमाडौँ । आगामी माघ १ गतेदेखि पाँच लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमार्फत यो व्यवस्था लागू गर्न लागेको हो।
नयाँ नियमअनुसार पाँच लाखभन्दा बढी रकमको भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामै रकम जम्मा गर्नुपर्नेछ। फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा जारी गरिने चेक पनि एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ।
तर प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरू, जलविद्युत्, सडक, सञ्चारलगायत क्षेत्रका कर्मचारी तथा श्रमिकलाई पारिश्रमिक र ज्याला भुक्तानी गर्न भने यो व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
त्यसैगरी विभिन्न आयोजनाका लागि आवश्यक मालसामान आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजस्व, बिगो, धरौटी तथा जमानत रकम जम्मा, साथै पेन्सन क्याम्पमार्फत पेन्सन वितरणमा समेत समस्या नहुने जनाइएको छ।
सरकारले वितरण गर्ने राहत, अनुदान तथा सहायता, विप्रेषण कम्पनी वा एजेन्टमार्फत प्राप्तकर्तालाई रकम भुक्तानी गर्न पनि यो नियमले अवरोध नगर्ने केन्द्रीय बैंकको भनाइ छ। बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यसँग गर्ने दैनिक कारोबार भने नगदमै गर्न सकिनेछ।
सरकारले यसअघि नै गत मङ्सिर १५ गते नगद कारोबारको सीमा पाँच लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेको थियो। सोसम्बन्धी सूचना अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरिसकेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्