काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर अधिवेशन भएको उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई अधिवेशनलाई निरन्तरता दिन आग्रह गरिन् ।
उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा सम्पदा स्थलहरूको जर्गेना गर्दै पूर्वाधार विकासलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन् । सडक, ढल, पुल निर्माण तथा मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासका आवश्यकतामाथि निरन्तर सोचेर कार्यान्वयन गर्दै आएको उनको भनाइ थियो ।
उनले जनताको सेवा गर्नु नै जनप्रतिनिधिको परम कर्तव्य भएको उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताइन् । चालु आर्थिक वर्षमै सम्पन्न भएका केही योजना तथा बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भइरहेका कार्यक्रमहरूले क्रमशः नतिजा दिन थालेको र बाँकीले समयक्रममा नतिजा दिने विश्वास व्यक्त गरिन् ।
उपमेयर डंगोलका अनुसार १७औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ का लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य व्यय भार ६५ करोड रुपैयाँ गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भइ कार्यान्वयनमा रहेको छ ।
चालु आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ, जसमा आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान छ ।
चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय–व्ययको अवस्था अनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको उपमेयर डंगोलले जानकारी गराइन् ।
क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले जानकारी दिइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको उनले बताइन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्