शेयर लगानीकर्ताले आन्तरिक राजश्व विभागले तिरेको कर लगानीकर्ताको नामबाट नै सरकारी खातामा जम्मा भएको म्यासेज पठाउन थालेको ६ महिना बढी भईसकेको छ । तर धेरै लगानीकर्ताले भने आफ्नो मोबाइलमा म्यासेज नआएको गुनासो गरेका छन् ।
आफ्नो खातामा यसरी म्यासेज आउनको लागि ब्रोकरको सिस्टममा प्यान नम्बरको सम्पूर्ण डिटेल मिलेको हुनु पर्ने नेप्सेले जनाएको । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सीएनएस अर्थात् क्लियारिङ एण्ड सेटलमेन्ट सिस्टममा लगानीकर्ताको नाम र प्यान नम्बर ठ्याक्कै मिलेमा मात्र कर जम्मा भएको म्यासेज आउँछ।
टिएमएसमा देखिने प्यान नम्बर सहि राखिएको भएपनि सीएनएसमा राखिएको प्यान नम्बर इन्ट्री गर्दा फरक परेको हुन सक्ने, र रुजु नभएको हुन सक्ने भएकोले म्यासेज नआउने उनी बताउछन्। आफ्नो ब्रोकरलाई म्यासेज आउने गरेको छैन भनी सीएनएसमा रहेको प्यान नम्बर फेरिफाई गराउनु पर्ने उनको भनाई छ। यो लगानीकर्ताले नै गर्नु पर्छ ।
केहि दिन अघि पनि नेप्सेले ब्रोकरहरुलाई पत्राचार गर्दै सीएनएसमा सहि प्यान नबर प्रविष्ट गर्न निर्देशन दिएको थियो ।हाल ५ लाख भन्दा बढीको शेयर कारोबार गर्दा मात्र प्यान अनिवार्य गरिएको छ । तर नेपाल इन्भेष्टर फोरममा पूर्व अध्यक्ष एवम शेयर विश्लेषक अम्बिका पौडेल सानो वा ठुलो लगानीकर्ता नभनी सबैले प्यान कार्ड लिनु पर्ने बताउछन् ।
उनी भन्छन् ‘ शेयरमा लगानी गर्ने पनि ब्यबसाय नै हो, व्यबसाय गरिसकेपछि प्रत्येक व्यक्तिले प्यान लिनु राज्यप्रतिको कर्तब्य हो’ । कुनै पनि नागरिकले प्यान लिएपछि उ करको दायर भित्र आउने भएकोले एक जिम्मेवार नागरिकको लागि पनि त्यो गर्वको कुरा हुने उनी बताउछन् ।
आफ्नै प्यान भएपछि उसले तिर्ने सम्पूर्ण करको विवरण प्यानसँग इन्टिग्रेट हुन्छ । यसो हुँदा एक लगानीकर्ताले कति कर तिरेको छ भन्ने एकै ठाउँमा हेर्नको लागि सजिलो हुन्छ । प्यान नलिंदा पनि कर काटीरहने तर कति कर तिरियो भन्ने वा कर तिरेको प्रमाण नहुने भएकोले प्यान लिन उनको सुझाव छ ।
उनी भन्छन् ‘प्यान लिएपछि जो कोहिले पनि ‘ म राज्यको जीम्मेवार नागरिक हुँ, मैले राज्यलाई कर तिरेको छु भनेर गर्वका साथ भन्न सक्छ, । १० कित्ता आईपिओ भर्ने व्यक्तिलाई पनि प्यान लिन सुझाव दिदै उनी भन्छन् ‘ आईपिओ मात्र भर्ने पनि प्यानमा आवद्द छ भने उसले शेयर कारोबार गर्दा राज्यलाई कर तिरेको छु भनी गर्वानुभूति गर्न सक्छ’ ।
प्यान लिएर कारोबार गर्दा सम्पूर्ण कारोबार सिस्टममा आउने उनी बताउछन् । उनी भन्छन् ‘ यदि कसैलाई भोली कुनै प्रयोजनको लागि कर चुक्ता प्रमाणपत्र चाहियो भने प्यान कार्ड हुँदा त्यो सजिलो हुन्छ’ । प्यान नहुँदा विभिन्न कार्यालयमा धाएर कर चुक्ताको लागि आवश्यक पर्ने कागजात जुटाउनु पर्ने तर प्यानसँग कारोबार लिंक छ भने त्यसकै आधारमा सजिलै कर चुक्ता पाईने उनी बताउछन् ।
साथै नागरिकको हिसाबले भविष्यमा ऋण लिनु परेमा पनि यदि उसले नियमित कर तिरिरहेको प्रमाण पेश गर्न सकेमा उसलाई ऋण पाउँन सहज समेत हुने छ । साथै कतिपय बैंक तथा वित्तीय संस्थाले कर तिरेको आधारमा त्यसको १५ गुणासम्म ऋण प्रदान गर्दै आएका छन् । त्यस हिसाबमा प्यान सँग कारोबार आवद्द गराउंदा फाइदा हुने देखिन्छ ।
धेरै नागरिकहरु व्यक्तिगत प्यान कार्ड लिएपछि के हुन्छ भन्ने प्रश्न सोधीरहन्छन् ? त्यसको उत्तर सहज छ । उदाहरणको लागि यदि एक व्यक्तिले वर्षौंदेखि आयकर, सामाजिक सुरक्षा कर नियमित रुपमा तिरिरहेको छ । तर, उसले व्यक्तिगत स्थायी लेखा नम्बर लिएको छैन भने उक्त व्यक्तिको तर्फबाट तिरेको कर एकमुष्ठरुपमा कार्यालयको तर्फबाट कर दाखिला हुन्छ । व्यक्तिगतरुपमा भुक्तानी भएको देखिँदैन ।
कुनै काम विशेषका लागि कर तिरेको प्रमाण चाहिएको खण्डमा सम्बन्धित रोजगारदाता वा कार्यालयले व्यक्तिको तर्फबाट भुक्तानी भएको करको प्रमाणसहित कर कार्यालयलाई पत्राचार गरेपछि कर कार्यालयले विवरण भिडाउँछ । अनिमात्रै व्यक्तिले कर दाखिला गरेको पत्र कर कार्यालयले दिन्छ ।
व्यक्तिगत स्थायी लेखा नम्बर उपलब्ध भएमा करकट्टी रकम सोझै व्यक्तिको नम्बरमा दाखिला गर्न सकिन्छ । र, भविष्यमा कर तिरेको प्रमाण लिनुपर्दा त्यही नम्बरको आधारमा विवरण खोज्न सकिन्छ । व्यक्तिगत स्थायी लेखा नम्बर नहुँदा आफुले तिरेको करको विवरण समेत सहजै फेला पार्न सकिँदैन । तर, स्थायी लेखा नम्बर लिएको खण्डमा करको विवरण सहजै उपलब्ध हुन्छ ।
व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि करको भार बढ्ने वा घट्ने हुँदैन । बरु यसले कर दाखिला गरेको विवरणलाई एकीकृत र व्यवस्थित गर्न सघाउँछ । तपाईंले तिरेको कर बेवारिसे हालतमा छोड्ने कि सप्रमाण कम्प्युटर सिस्टममा व्यवस्थित गर्ने? व्यक्तिगत स्थायी लेखा नम्बर लिने विषय यही प्रश्नसँग सम्बन्धित छ ।
प्यान यसरी लिन सकिन्छ ।आन्तरिक राजस्व विभागको वेबसाइट (आइआरडी डट जीओभी डट एनपी ) खोल्ने । त्यसमा रहेको ट्याक्सपेयर पोर्टल क्लिक गरेपछि खुल्ने पेजको दायाँतिर रजिस्टेसन अप्सन देखिन्छ ।
रजिष्ट्रेसन अप्सन अन्तर्गत देखिने दुईवटा अप्सनमध्ये एप्लिकेसन फर रजिस्टेसनमा जाने । त्यसपछि सब्मिसन नम्बर लिने फर्म देखिन्छ । त्यसमा युजरनेम, पासवर्ड, सम्पर्क नम्बर, इमेल आईडी भर्ने ।
रजिस्टेसन फर अन्तर्गत देखिने अप्सनमध्ये पर्सनल पान छान्ने । भेरिफाई अफिस मध्ये आफुले स्थायी लेखा नम्बर लिने आन्तरिक राजस्व कार्यालय अथवा करदाता सेवा कार्यालय रोजेर लिस्टबाट यौटा छान्ने ।
सबै विवरण भरिसकेपछि ओके बटन क्लिक गरी अगाडि बढ्ने । नयाँ पेजमा सब्मिसन नम्बर देखिन्छ ।(यो नम्बर प्यान कार्डको लागि भरेको विवरण भेरिफाई गर्न आवश्यक पर्दछ) सब्मिसन नम्बर भन्दा तलपट्टि कन्टिन्यू बटन देखिन्छ । त्यसमा क्लिक गरेपछि व्यक्तिगत विवरण भर्ने फर्म खुल्छ ।
फोटो अपलोड गरी व्यक्तिगत विवरण भर्ने । नागरिकता वा पासपोर्ट अपलोड गर्नका अपलोड बटन क्लिक गर्ने । (स्थायी र अस्थायी ठेगाना उल्लेख गर्ने स्थानमा हालको गाउँपालिका तथा नगरपालिकाको सूची दिइएको छ)
सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा सेभ गरी सब्मिट गर्ने । प्रिन्ट अप्सनको सहायताले फर्म प्रिन्ट गर्न सकिन्छ । फर्म प्रिन्ट गरेर हार्ड कपी वा सब्मिसन नम्बर लिएर सम्बन्धित कार्यालयमा गई भेरिफाई गरिसकेपछि प्यान कार्ड प्राप्त गर्न सकिन्छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्