काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागु गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी जारी भएको भनिएपनि निषेधाज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो ।
यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागु गर्न लागेको हो । साउन १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।
हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू तयारी अघि बढेको बताए ।
नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्न सुरु गरेको छ । विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।
त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया