तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका महिलाले सामूहिक सयपत्री फूलखेतीबाट आम्दानी गर्न थालेका छन्। तीन वर्षअघि सुरु गरिएको खेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ।
महिला समूहले उत्पादन गरेको फूलको बिक्रीसमेत सुरु भएको छ। पहिलो टिपाइमै ५० किलो फूलको माग आएको छ भने उत्पादित फूल प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार व्यावसायिक फूलखेतीले स्थानीय महिलालाई आफ्नै श्रमबाट आम्दानी गर्ने अवसर दिएको छ। गाउँमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटेको छ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले स्थानीय उत्पादनको बजार राम्रो रहेको बताएका छन्। खेतीलाई थप विस्तार गर्न सके महिलाको आयआर्जन बढ्नुका साथै स्थानीयस्तरमा रोजगारी र उद्यमशीलताको अवसरसमेत वृद्धि हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्